सर्वोच्चको फैसलापछि प्रचण्ड–नेपाल कानुनी परामर्शमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको बैठक सिंहदरबारमा सुरु भएको छ । आइतबार दिउँसो सर्वोच्च अदालतले नेकपाको बारेमा गरेको फैसलापछि नेकपा प्रचण्ड–नेपाल समूहको बैठक सुरु भएको हो ।
बैठकमा सर्वोच्चले गरेको निर्णयबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमारले कानुनी परामर्श गरिरहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।
सर्वोच्चको फैसलामा भनिएको छ, ‘माथि उल्लेख भइ विवेचना भएको कानूनी आधार काराण समेतबाट नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको आवस्थामा सोही दर्ता भइसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षी मध्येका निर्वाचन आयोगको मिति २०७५–०२–२३ को निर्णय र सो निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५–०७–०९ को निर्णय फैसला राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ६(१) (ङ) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ९ मा भएको कानूनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ ।’
षि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै सर्वोच्चमा रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्दाको सुनुवाई फागुन १३ मा सकिएको थियो । आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।
यता प्रचण्डले सर्वोच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा भिन्न आएको प्रतिक्रिया दिएका छन् । उनले यसबारेमा अदालतको फैसलाको विवरण विस्तृतरुपमा अध्ययन गरेपछि मात्र थप प्रतिक्रिया दिने बताएका हुन् ।
प्रतिक्रिया