शुक्रबार, वैशाख १४, २०८१

सर्वोच्चले ब्यूँताइदिएको नेकपा एमाले पुनर्स्थापना हुँदै

नेपालखोज २०७७ फागुन २४ गते १५:३१

विराटनगर । विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बोर्ड टांगिएको छ ।

सोमबार एक कार्यक्रमबीच एमालेको साविक जिल्ला पार्टी कार्यालय पांचाली विराटनगरमा अवस्थित भवनमा संघीय मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा नेकपा एमालेको बोर्ड टांगिएको हो ।

यस अवसरमा ढकालले कार्यकर्तालाई अभिवादन गर्दै यो ऐतिहासिक अवसर भएको बताएका छन् । साथै जिल्लाका नेकपा एमालेको नामबाट पार्टीको गतिविधि सुरु भएको छ ।

एमाले र माओवादीको एकीकरण भएपछि मदन स्मृति भवनमा पार्टीको कार्यालय सञ्चालनमा आएको थियो । तर, सोमबार मध्यान्नदेखि भने नेकपा एमालेको बोर्ड टांगिएको छ ।

सर्वोच्च अदालतले नेकपालाई खारेज गरी नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएसँगै विराटनगरमा साविक एमालेका कार्यकर्ताले आफ्नो पार्टी कार्यालयमा गतिविधि सुरु गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य गुरु बरालले देशलाई समृद्ध बनाउँदै अघि बढ्नु पर्छ भन्ने मान्यताले पार्टी एकता गर पनि त्यसले काम गर्न नसकेको बताए ।

उनले एमालेले अब आफ्नो विगतको पहिचान झल्काउने गरी अघि बढ्नु पर्ने बताए ।

त्यस्तै एमालेले जिल्ला जिल्लामा कार्यालय पुनर्स्थापना गर्न सुरु गरेको छ । नुवाकोटको विदुरमा पनि नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड टांगिएको छ ।

तत्कालीन एमालेका नुवाकोट उपाध्यक्ष एवं वाग्मती प्रदेश सांसद बद्री मैनालीको नेतृत्त्वमा बोर्ड राखिएको हो ।

त्यसैगरी, ओली समूहले धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पनि नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्ने तयारी गरेको छ । कार्यालयका सचिव ईश्वरी रिजालले मंगलबार अथवा बुधवार बोर्ड राख्ने जानकारी दिए ।

प्रतिक्रिया