बिहीबार, वैशाख १३, २०८१

सातदोबाटोको पहिलो हार, पुल्चोकको पहिलो जित

नेपालखोज २०७७ फागुन २४ गते २१:४०

काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगको च्याम्पियन बन्ने पक्का भएको सातदोबाटो युथ क्लबले पहिलो हार व्यहोर्नुु परेको छ । यसअघि नै ए डिभिजन लिगमा उक्लने पक्का भइसकेको सातदोबाटो सोमबार भएको खेलमा मध्यपुर युथ एसोसियसनसँग २(१ ले पराजित भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक एक गोल गरे । सातदोबाटोका माल्डिना आङथुपुले एक गोल फर्काए ।

पराजित भएपछि १० खेलबाट २५ अंक जोडेर सातदोबाटो अंकतालिकाको शीर्ष स्थानमा छ । लिगमा अब हरेक टिमले एक एक खेल खेल्न बाँकी छ । खुमलटार युथ क्लब २२ अंकसहित दोस्रो स्थानमा छ । १३ अंक जोडेको मध्यपुर छैटौं स्थानमा उक्लिएको छ ।

यस्तै सोमबार भएको दोस्रो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले रानीपोखरी कर्नर टिम आरसिटीलाई पराजित गर्दै लिगमा पहिलो जित हात पारेको छ । पुल्चोक स्पोर्ट्स क्लबले रानीपोखरीलाई २(१ ले पराजित गरेको हो ।

पुल्चोकका लागि अर्जुनकुमार राना र किस्मत लिम्बुले एक एक गोल गरे । आरसिटीका लागि अमर डंगोलले एक गोल गरे ।

पहिलो जितपछि १० खेलबाट ५ अंक जोडेको पुल्चोक अन्तिम स्थानमै छ । झम्सिखेल युथ क्लब ६ अंकसहित ११औं स्थानमा छ । अब अन्तिम खेलमा पुल्चोकले नयाँबस्ती युथ क्लबसँग र झम्सिखेलले मध्यपुर युथ एसोसिएसनविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया