महाशिवरात्रि मेला : यस्तो छ ट्राफिक रुट
काठमाडौं । हिन्दूधर्मालम्बीहरूले बिहीबार आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाउँदैछन् ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने दिनका रूपमा हिन्दूधर्मालम्बीले लिने गरेका छन् ।
आराध्यदेव पशुपतिनाथको पूजा गर्न देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आउँछन् । भक्तजनहरु काठमाडौं ओइरिँदा पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा अत्यधिक चाप बढ्छ । त्यसैले यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएर सार्वजनिक गरेको छ ।
बिहीबार शिवरात्रिको दिन चक्रपथ चल्ने यातायात सेवा सुचारु राख्ने निर्णय महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको छ । यद्यपि दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने महाशाखाले जनाएको ।
चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने छ ।
यसैगरी द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुबहादलबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशालातर्फ पनि गाडी चलाउन निषेध गरिने ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।
यसैगरी मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन पनि निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
दर्शनार्थी र तिर्थयात्रीहरुका लागि सिफलचौर र तिलगंगामा पार्किङको व्यवस्था मिलाइएको छ ।
यसैगरी देवउद्यानस्थित पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारि पार्किङ स्थान तोकिएको छ ।
प्रतिक्रिया