जाजरकोटमा पनि भेटियो वर्डफ्लु

जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा वर्डफ्लु देखिएको छ ।
पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण गर्दा वर्डफ्लु देखिएको जानकारी दिए।योसँगै माघयता नेपालमा पाँचपटक वर्डफ्लु देखिएको हो ।
यसअघि काठमाडौँको तारकेश्वर–१ मा दुईपटक र वडा नं ७ मा एकपटक र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक पटक वर्डफ्लु देखिएको थियो । वर्डफ्लु पुष्टि भएपछि उक्त क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रण गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको छ ।
उनले रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सकको विज्ञ टोली जाजरकोट पठाइएको जानकारी दिए । वर्डफ्लु देखिएको क्षेत्रका रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ ।
उनका अनुसार रोग नियन्त्रणका क्रममा त्यहाँ रहेका ३०० ब्वायलर कुखुरा, ३३१ लेयर्स कुखुरा, ७० लोकल कुखुरा, ८८३ अण्डा र २५१ केजी दाना, २०० वटा अण्डाको केटसमेत नष्ट गरिएको छ । विभागले रोग देखापरेको क्षेत्रलाई पूर्ण निसङ्क्रमणसमेत गरिएको उनले बताए । विभागले वर्डफ्लु रोगको सघन निगरानी कार्यलाई नियमित सञ्चालन गर्दै आइरहेको छ । यसअघि पशुपन्छीमा लाग्ने बर्ड फ्लु नेपालमा सन् २००९ देखि देखिन थालेको हो ।
प्रतिक्रिया