प्रधानमन्त्रीले आफ्नो समूहमा लागेका माओवादी केन्द्रका नेताहरुलाई ‘सरप्राइज’ दिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा लागेका नेकपा माओवादी केन्द्रका नेताहरुलाई ‘सरप्राइज’ दिने भएका छन् ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला आफ्नो पक्षमा लागेका माओवादी केन्द्रका नेताहरुलाई प्रधानमन्त्री ओलीले ‘सरप्राइज’ दिने भएका हुन् ।
माओवादी केन्द्रका नेताहरुलाई एमालेमा सम्मानजनक स्थान दिने तयारी प्रधानमन्त्री ओलीले थालेका छन् भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई उपाधयक्ष बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
एमालेका उपमहासचिव विष्णु पौडेलले संकटका बेला ओलीलाई साथ दिने माओवादी केन्द्रका अन्य नेताहरूलाई पनि उचित स्थान दिने बताए । यद्यपी उनले ओलीतिर लागेकाहरूलाई के पद दिने अहिले टुंगो नभएको र त्यो उनीहरूका लागि ‘सरप्राइज’ हुने बताए ।
तत्कालीन नेकपा एमालेमा पाँच जना उपाध्यक्ष थिए । एमालेका उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवालीमध्ये अहिले भण्डारी राष्ट्रपति छन् ।
माओवादी केन्द्रका सांसदहरू पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको पक्षमा उभिएका थिए । उनीहरू सबैलाई ओलीले मन्त्री बनाएका छन् ।
अहिले माओवादी केन्द्रका नेता प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा मन्त्री छ ।
प्रतिक्रिया