संसदबाट हटाए पनि माओवादीमा फर्किन्न : मन्त्री भट्ट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफू नेकपा माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन् ।
मन्त्री भट्टले बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकारहरुसँग बोल्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि आफू पार्टीमा फर्कने सम्भावना नरहेको बताएका हुन् । उनले आफ्नो सांसद पदबारे भने सोचेर निर्णय लिने बताए ।
‘हामी छलफलमा छौँ । सम्माननीय प्रधानमन्त्रीसँग छलफल गरिरहेका छौँ । के गर्ने भन्ने क्लियर भएको छैन’,उनले भने, ‘समर्थन फिर्ता लिएपनि माओवादीमा फर्किने सम्भावना मैले देख्दिँन । सांसद पद गए जाओस् भन्ने बारेमा पनि छलफल गर्दैछौं, के हुन्छ हेरौं ।’
उनले सर्वोच्च अदालतले एमाले र माओवादी पार्टी ब्युँताईदिएपछिको नयाँ परिस्थितीसँग कसरी जाने भन्नेमा गृहकार्य गरिरहेको बताए । मन्त्री भट्टले पार्टी एकताको सम्भावनाहरुका बारेमा पनि छलफल भइरहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेपछि उनी तत्कालिन नेकपाको केपी आली समूहमा लागेका थिए ।
मन्त्री भट्ट माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित सांसद हुन् । माओवादी छोड्नेमा भट्टसहित गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, शहरी विकासमन्त्री प्रभु शाह र श्रममन्त्री गौरीशंकर चौधरी रहेका छन् ।
माओवादी केन्द्रले भने आफ्ना नेताहरु सरकारमा रहेकाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय लिएको हो ।
प्रतिक्रिया