शनिबार, वैशाख १५, २०८१

दाङमा ऐतिहासिक ‘भोटे मेला’ सुरु

नेपालखोज २०७७ फागुन २७ गते १५:३७

दाङ । दाङको ऐतिहासिक ‘भोटे मेला आजदेखि सुरु भएको छ । जुम्ला, हुम्ला, मुगुलगायतबाट यार्सागुम्बा, जडीबुटी, राडी, कम्बल बेच्न आएका भोटेहरूले दाङको तुलसीपुरमा भोटे मेला लगाउने गरेको इतिहास छ ।

पछिल्लो समय २०६१ सालदेखि बन्द रहेको यो मेला गएको वर्षदेखि दाङबासीले नै चासोका साथ पुनःसञ्चालन गरेका हुन् । ऐतिहासिक मेलालाई संरक्षण गर्ने उद्देश्यले मेला लगाउन सुरु गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले बताए ।

उनकाअनुसार मेला आउँदो चैत २ गतेसम्म सञ्चालन हुनेछ । यो मेलाको लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले मेला ऐतिहासिक भएकाले यसलाई संरक्षण गर्नुपर्ने बताए । उनकाअनुसार यस मेलाको विशेषता नै घोडा दौड हो, यस प्रतियोगितालाई राष्ट्रियस्तरको बनाउनुपर्छ । मेलालाई परिस्कृत गरेर थप व्यवस्थित गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले उपमहानगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीयस्थलको संरक्षण गरिएको भन्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। यस मेलालाई ऐतिहासिक झल्किने गरी मेलालाई निरन्तरता दिने बताए । तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको पर्सेनीमा यो मेला लाग्ने गरेको छ ।

वडाध्यक्ष टोपबहादुर केसीकाअनुसार पहिले सार्वजनिक जग्गामा मेला लगाइने गरिएको भए पनि त्यो जग्गा अतिक्रमणमा परेकाले खोलामा मेला लगाउनुपर्ने बाध्यता छ । उनले नजिकै शवदाहस्थल तथा विद्यालय जाने बाटोसमेत भएकाले अन्य ठाउँमा सार्नुपर्ने अवस्था रहेको बताए ।

सार्वजनिक जग्गामा संरचनासमेत बनेकाले अन्य ठाउँमा मेलाका लागि ठाउँ खोजी भइरहेको उनले बताए। मेलामा घोडा दौड प्रतियोगितासमेत गराइएको थियो । छ दिनसम्म चल्ने मेलामा विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछन् ।

मेलामा १३० स्टल राख्नुका साथै बालउद्यान, मौतकी कुवा, पिङलगायत मनोरञ्जनका सामग्रीसमेत राखिएको छ । साथै स्थानीय उत्पादन प्रवर्द्धन, स्थानीय लोक संस्कृति संरक्षण, देउडा नाचलगायत प्रस्तुत गरिनेछ।

प्रतिक्रिया