बिहीबार, चैत १५, २०८०

बाइडेनद्वारा अहिलेसम्मकै ठूलो राहत प्याकेजमा हस्ताक्षर

नेपालखोज २०७७ फागुन २८ गते १०:२१

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले १.९ ट्रिलियन डलर (१९ खर्ब) को आर्थिक राहत विधेयकमा हस्ताक्षर गरेका छन् ।

यसको उदेश्य कोभिड १९ ले प्रभावित भएका अमेरिकीहरुलाई सहायता गर्नु हो र अब यसले कानुनी रुप लिइसकेको छ ।

यो विधेयकमा १४०० डलर भुक्तान, बेरोजगारी भत्ता विस्तार, चाइल्ड टैक्स क्रेडिट जस्ता योजना छन् । यसबाट करोडौँ मानिसहरु गरिबीबाट बाहिर निस्कने अनुमान गरिएको छ ।

राष्ट्रपति बाइडेनले राहत प्याकेजले देशको मेरुदण्ड पुनर्निर्माण गर्ने बताएका छन् । यो विधेयकलाई अमेरिकी इतिहासको सबैभन्दा धेरै खर्च रहेको विधेयक भनिएको छ ।

बाइडेनले यो विधेयकमा उल्लेखित विषयबारे आज देशबासीका नाममा सम्बोधन गर्ने छन्।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म पाँच लाख २९ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । दुई करोड ९१ लाख ४९ हजार भन्दा धेरै संक्रमित भएका छन् ।

महामारीका कारण अमेरिकी अर्थतन्त्र प्रभावित भएको छ । हाल अमेरिकामा बेरोजगारी दर ६.२ प्रतिशत छ ।

महामारी सुरु भएयता तेस्रो पटक अमेरिकी सरकारले प्रभावितका लागि राहत प्याकेज ल्याएको हो । यो चरणको राहत प्याकेजमा प्रभावित नागरिकलाई १४ सय डलर बराबरको चेक प्रदान गरिने छ ।

रिपब्लिकनहरुले बाइडेनको योजना निकै खर्चिलो रहेको भन्दै विरोध गरेका छन् । केही डेमोक्र्याटहरुले पनि प्याकेजका केही व्यवस्थामा विरोध जनाएका छन् ।

नयाँ योजना अनुसार आउँदो सेप्टेम्बर ६ सम्म बेरोजगार भत्ता समेत दिइने छ । सो भत्ता भने हप्ताको ४०० डलरबाट घटाएर ३०० डलर बनाइएको छ ।

प्रतिक्रिया