शुक्रबार, वैशाख १४, २०८१

स्रोत नखुलेको २७ लाख नगदसहित पेस्सीकोलाबाट दुई जना पक्राउ

नेपालखोज २०७७ फागुन २८ गते १३:४६

काठमाडौं । प्रहरीले कारको डिक्कीबाट स्रोत नखुलेको २७ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार राति पेप्सीकोलाबाट सानो थिमितर्फ आउँदै गरेको बा२१च३८३९ नम्बरको नीलो रङ्गको कार चेकजाँच गर्ने क्रममा हजार, पाँच सय र सयको नोट गरी २७ लाख रुपैयाँ बरामद गरेको थियो भने कारमा सवार दुई जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उक्त नगद रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका ६ का ३२ वर्षीय सुमन घिमिरे र काठमाडौं माकलबारी बस्ने ३७ वर्षीय विनोद तामाङ रहेको परिसरका डीएसपी दिपक गिरीले जानकारी दिए ।

यता कारमा सवार सुमनले पैसा आफ्नो नभएको बयान दिएका थिए । तर, प्रहरीले बालकोटस्थित सुमनको डेरा तलासी गर्दा थप १६ लाख ३० हजार रुपैयाँ फेला परेपछि उक्त पैसा आफ्नो भएको स्वकार गरेको प्रहरीको दाबी छ ।

त्यस्तै, घिमिरेको नाममा काटिएको दुई लाख पचास हजार रुपैयाँको राष्ट्रिय वाणिज्य बैंकको चेक एक थान, नौ लाख पचास हजार रुपैयाँको प्राइम बैंकको बाउन्स चेक, एक लाख पच्चिस हजार रुपैयाँको स्ट्याण्डर चार्टर बैंकको चेक, नौ लाख उनान्सय हजार रुपैयाँको नेपाल बैंकको चेक, पन्ध्र लाख रुपैयाँको महालक्ष्मी विकास बैंकको चेक, मनास्लु डिस्ट्रिलरीको नाममा बहत्तर हजार रुपैयाँ नगद जम्मा गरेको भौचर समेत बरामद गरेको छ ।

पक्राउ परेको सुमनविरुद्ध यसअघि पनि जुवा खेलेको र खेलाइएको अभियोथमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा २०७४ कात्तिक १९ गते र दरबारमार्गमा ०७७ पुस २ गते मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।

घिमिरे बैंकिङ कसुर अभियोगमा मुद्दामा पटके तथा फरार अभियुक्त भएको समेत खुलेको छ । उनीविरुद्ध महानगरीय प्रहरी वृत्त बौद्धले बैकिङ कसुरमा मुद्दा दर्ता गराएको छ ।

थप अनुसन्धान तथा कारवाहीका लागी दुवैदलाई सम्पति शुद्धिकरण विभाग पुल्चोक पठाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया