मंगलबार, वैशाख ११, २०८१

स्रोत नखुलेको ४२ लाख ३० हजार नेपाली रुपैयाँ सहित तामाङ पक्राउ

नेपालखोज २०७७ फागुन २८ गते १५:११


भक्तपुर । भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बालकोट बस्ने दोलखा बैतेश्वलर गाउँपालिका–६ घर भएका ३२ वर्षीय सुमन घिमिरे र काठमाडौं माकलबारी बस्ने सोही ठाउँ घर भएका ३७ वर्षीय बिनोद तामाङलाई स्रोत नखुलेको ४२ लाख ३० हजार नेपाली रुपैयाँ र विभिन्न बैंक चेक सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलाई सोबाट आर्जन गरेको नगद लिएर हिँडिरहेका छन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा.२१ च ३८३९ नम्बरको कारलाई जाँच गर्दा स्रोत नखुलेको २७ लाख रुपैयाँ फेला पारी तामाङलाई पक्राउ गरेको हो । थप अनुसन्धान गर्ने क्रममा उक्त रकम घिमिरेको हो भन्ने खुल्न आएपछि काठमाडौं पेप्सीकोलाबाट घिमिरेलाई नियन्त्रणमा लिई उनको बालकोटस्थित कोठाबाट थप १५ लाख ३० हजार रुपैयाँ फेला पारेको हो ।


साथै घिमिरेको नाममा काटिएको २ लाख ५० हजार रुपैयाँ लेखिएको राष्ट्रिय बाणिज्य बैंकको चेक १ थान, ९ लाख ५० हजार रुपैयाँ लेखिएको प्राइम बैंकको बाउन्स चेक १ थान, १ लाख २५ हजार रुपैयाँ लेखिएको स्ट्यार्ण्ड चार्टर बैंकको चेक १ थान, ९ लाख ९९ हजार रुपैयाँ लखिएको नेपाल बैंक लिमिटेडको १ थान चेक, १५ लाख रुपैयाँ लखिएको महालक्ष्मी बिकास बैंकको चेक १ थान, मनास्लु डिस्ट्रिलरीको नाममा ७२ हजार रुपैयाँ नगद जम्मा गरेको १ थान भौचर समेत प्रहरीले बरामद गरेको छ ।


पक्राउ परेका मध्ये सुमन घिमिरे उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूरमा जुवा खेलेको वा खेलाएको अभियोगमा २०७४ कात्तिक १९ गते महानगरीय प्रहरी वृत्त महाराजगंज काठमाडौं र २०७७ पुस ३ गते महानगरीय प्रहरी वृत्त दरवारमार्गमा तथा बैंकिङ कसुर मुद्दामा समेत २०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्धमा मुद्दा दर्ता भई पटके तथा फरार समेत रहेको अनुसन्धानबाट खुल्न आएको छ ।


उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि सम्पति सुद्धिकरण बिभाग पुल्चोक, ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया