शुक्रबार, वैशाख १४, २०८१

अस्ट्राजेनिका खोप नलगाउनु पर्ने कुनै कारण छैन : डब्लुएचओ

नेपालखोज २०७७ फागुन २८ गते २०:१३

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस विरुद्ध लगाइँदै आएको अस्ट्राजेनिका खोप नलगाउनु पर्ने कुनै कारण नभएको स्पष्ट पारेको छ ।

कोरोनाभाइरस विरुद्ध राम्रो काम गरिरहेको र प्रभावकारी प्रमाणित भइरहेको खोपमाथि शंका गर्नु अनावश्यक भएको संगठनले शुक्रबार स्पष्ट पारेको हो । रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिका खोप लगाउने अभियान नै स्थगित गरेपछि विश्व स्वास्थ्य संगठनले स्पष्ट पार्नु परेको हो ।

डब्लुएचओको खोप सुझाव समितिले हालै पनि अस्ट्राजेनिका खोप उपयोगी नै रहेको, कुनै हानिकारक नरहेको र कुनै खतरा नदेखिएकाले निशंकोच लगाउन सुझाव दिएको थियो ।

डेनमार्क, नर्वे, आइसल्याण्ड, इटली, रोमानियालगायतमा देशमा अहिले अस्ट्राजेनिका खोप लगाउने अभियान स्थगित गरिएको छ । “अस्ट्राजेनिका खोप एकदमै राम्रो खोप हो, अरु कतिपय खोप भन्दा यो गुणस्तरीय छ”, डब्लुएचओका प्रवक्ता मार्गरेट हरिसले भने।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले खोपको प्रयोग र परिणामसम्बन्धी विवरणहरुको आफूहरुले अध्ययन गरिरहेको जानकारी दिए। आफूहरुको अध्ययनमा खोपकै कारणले कसैको मृत्यु भएको पुष्टि नभएको पनि उनले पत्रकारलाई स्पष्ट पारे।

उनले खोपका बारेमा आफूहरुले अध्ययनलाई जारी गरेको तर खोप लगाउने अभियानलाई भने रोक्न आवश्यक नरहेकोमा जोड दिए । अरु स्वास्थ्य निकायले पनि अस्ट्राजेनिकाको कोभिड खोपमा कुनै समस्या नरहेको दाबी गरेका छन् ।

स्वास्थ्यसम्बन्धी नियामक निकायले खोपकै कारण रगत जमेको भन्ने ठोस प्रमाण नभेटिएको जनाएका छन् तर सावधानीका लागि खोप अभियानमा ढिलाइ गरिएको युरोपेली मुलुकको भनाइ छ । अस्ट्रेलिया, मेक्सिको र फिलिपिन्सले भने खोप अभियान जारी राख्ने जनाएका छन् । क्यानडाले खोपका कारण स्वास्थ्यमा प्रतिकूल प्रभाव देखिएको भन्ने बारेमा ठोस प्रमाण नभेटिएको जनाएको छ ।

अमेरिकामा अहिले खोप अभियान तीव्र रुपमा अघि बढेको छ । वैज्ञानिकहरुले कोभिडलाई परास्त गर्न खोप एक मात्र भरपर्दो साधन रहेको बताएका छन् । विश्वमा हाल कोरोनाभाइरसको संक्रमणबाट २६ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

प्रतिक्रिया