बुधबार, वैशाख १२, २०८१

ओलीको निर्णय मान्न नसकिने माधव नेपाल समूहको निष्कर्ष

नेपालखोज २०७७ फागुन २८ गते २१:११

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका निर्णय मान्न नसकिने निष्कर्ष निकालेको छ ।

अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटीले अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गर्ने तथा महाधिवेशनको मिति तोकेलगत्तै नयाँबानेश्वरस्थित अर्याल होटलमा माधव नेपाल तथा झलनाथ खनाल पक्षको स्थायी कमिटीको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले ओली पक्षले गरेको निर्णय मान्न नसकिने निष्कर्ष निकालेको नेपाल पक्षका नेता रघुजी पन्तले जानकारी दिए । ‘ओलीको निर्णय मान सकिन्न । ओली पक्षले गरेको निर्णय पार्टी विधान र विधिविपरीत छन् । यसले पार्टीलाई विभाजनतिर लैजान्छ,’ नेता पन्तले भने, ‘केन्द्रीय कमिटी बैठक राखिएको छैन । त्यो (ओली पक्षको) निर्णय मान्दैनौँ ।’

यसैबीच, नेपाल समूहका नेता योगेश भट्टराईले धैर्यता कायम गर्न आह्वान गरेका छन् । साथै एकताको विकल्प नरहेको समेत बताएका छन् । उनले ट्वीट गर्दै भट्टराईले ओली पक्षको निर्णयको सही र सशक्त ढंगले प्रतिकार गरौँ भन्दै एकताको विकल्प नभएको जनाएका छन् ।

त्यस्तै, नेकपा एमालेका निर्वाचित उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलन विघटन गर्न खोजेको तर त्यसलाई सफल हुन नदिइने बताएका छन् । सामाजिक सञ्जालमा भुसालले एकतर्फी रुपमा केन्द्रीय सदस्य मनोनित गर्ने तथा महाधिवेशनको मिति तोक्ने पछिल्लो निर्णयबाट ओलीले यसलाई थप पुष्टि गरेको बताए ।

प्रतिक्रिया