शनिबार, वैशाख १५, २०८१

निजीलाई पनि कोरोनाविरुद्धको खोप ल्याउन अनुमति

नेपालखोज २०७७ फागुन २९ गते ७:०४

काठमाडौं । कोभिड– १९ विरुद्धको खोप आयातका लागि सरकारले निजी कम्पनीहरूलाई अनुमति दिने भएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले एक–दुई दिनमै निजीलाई खोप ल्याउने वातावरण बनाउने बताए ।

निजी कम्पनीले ल्याएको खोप लागत मूल्यमा १० प्रतिशतसम्म मात्रै नाफा लिएर बेच्न पाउने मन्त्री त्रिपाठीले बताए । खोप ल्याउन औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्नेछ । तर, विभागमा अनुमतिका लागि एउटा पनि निवेदन परेको छैन । विभागको सूचना अधिकारी सन्तोष केसीले अनुमति मागे प्रक्रिया पूरा गरेर दिन सक्ने बताए ।

निजीले खोप ल्याउने भएपछि खोप किनेर लगाउन सक्ने, तर सरकारको प्राथमिकतामा नपरेका वर्गका व्यक्तिसँग खोप लगाउने विकल्प हुने सरकारको आकलन छ । अहिलेसम्म १४ लाखभन्दा बढी नागरिकले कोभिड– १९ विरुद्धको खोप लगाएका छन् ।

दोस्रो डोज लगाउने समय नजिकिँदै छ । तर, सरकारसँग मौज्दात खोप साढे ६ लाखको हाराहारीमा मात्रै छ । स्वास्थ्य मन्त्रालयले २० लाख खोप खरिद गरेकोमा १० लाख मात्रै नेपालले प्राप्त गरेको छ । १० लाख भारत सरकारले अनुदानमा दिएको छ भने करिब साढे तीन लाख कोभ्याक्स सुविधाबाट आएको छ । अहिलेसम्म पाँच प्रतिशत जनताले मात्र पहिलो डोजको खोप लगाएका छन् ।

प्रतिक्रिया