मंगलबार, वैशाख ४, २०८१

नवप्रवर्तनका परियोजना सञ्चालन गरिने

नेपालखोज २०७७ फागुन २९ गते १२:५०

काठमाडौं । नेपाललगायत दक्षिण एशियाली मुलुकहरुमा जलवायु परिवर्तनको समस्या तीब्ररुपमा बढ्दै सन्दर्भमा ती चुनौतीहरुसँग जुध्न सामूहिक प्रयासबाट नवप्रवर्तनका परियोजनाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

एशियाली विपद् पूर्वतयारी केन्द्र (एडिपिसी)द्वारा यहाँ आयोजित दक्षिण एशियामा जलवायु अनुकूलन र उत्थानशीलताका लागि नवप्रवद्र्धनसम्बन्धी गोष्ठीका सहभागी वक्ताहरुले यस्ता परियोजनाहरु सञ्चालन गर्दा स्थानीय, राष्ट्रिय र क्षेत्रीयस्तरमा गर्नुपर्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा एडिपिसीका उपकार्यकारी निर्देशक आस्लाम पर्वेजले विश्व बैंकको सहयोगमा नमूनाको रुपमा नेपाल, बङ्गलादेश र पाकिस्तानमा जलवायु अनुकूलन र उत्थानशीलतासम्बन्धी पाँच वर्षे नमूना परियोजना कार्यान्वयनमा ल्याइएको र ती मुलुकबाट विभिन्न सात क्षेत्रमा नवप्रवर्तनका कार्यक्रम कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।

उनले जलवायु अनुकूलन र उत्थानशीलताका क्षेत्रमा नेपालका अनुभव दक्षिण एशियाकै लागि उपयोगी हुने बताए ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नेपालका सबै स्थानीय तह र निजी क्षेत्रको क्षमता विकास गरी नवप्रवर्तनका परियोजनाहरु कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

एडिपिसी जलवायु अनुकूलन तथा उत्थानशीलता परियोजनाका प्रमुख पूर्णचन्द्रलाल राजभण्डारी र विश्व बैंक नेपालका विशेषज्ञ अभानीमणि दीक्षितले नयाँ परियोजनाहरुको कार्यान्वयनबाट जलवायु परिवर्तनबाट सिर्जित समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

सो अवसरमा नवप्रवर्तनका परियोजनाहरु तर्जुमा गर्दा नै स्थानीय स्तरमा विभिन्न जाति, समुदाय, क्षेत्रहरुमा अभ्यासमा रहेका अनुकूलनसम्बन्धी ज्ञान, सीप र अनुभवहरुलाई प्रवद्र्धन गर्नुपर्ने, महिला, पिछडिएका समुदायको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने जस्ता सुझावहरु प्रस्तत गरिएको थियो । परियोजना कार्यान्वयनपछि राष्ट्रियस्तरमा जलवायु जोखिमसम्बन्धी योजना निर्माण तथा क्षेत्रीयस्तरमा जलवायु सूचनाको पहुँचमा सुधार एवं उत्थानशील निर्देशिकाको तर्जुमा र क्षेत्रीयस्तरमा जलवायु क्षेत्रगत लगानीमा वृद्धि एवं संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताइएको छ । 

प्रतिक्रिया