बिहीबार, चैत १५, २०८०

‘केपी ओलीलाई ठेगान लाउन आउनुभयो भने तपाईंका खुट्टामा ठेस लाग्छ’

नेपालखोज २०७७ चैत १ गते ५:४१

काठमाडौँ — प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ठेगान लगाउने सोच नराख्न पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई चेतावनी दिएका छन् । 

एमालेको महिला संगठन अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै पार्टीमा काम गर्नका लागि फर्किन नेपाल पक्षलाई भनेका छन् । उनले आगामी केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पनि भनेका छन् ।

‘यस्सो वक्तव्यबाजी सुन्छु, हामी फर्किन्छौं । केपी ओलीलाई ठेगान लगाउन फर्किन्छौं भनेको । खुट्टी देखेरै पत्याइयो । काम गर्न, पार्टी बनाउन आउनुस् । केपी ओलीलाई ठेगान लाउन आउनुभयो भने तपाईंका खुट्टामा बाटैमा ठेस लाग्छ,’ ओलीले भने ।

‘नेकपा’ नामको मुद्दामा सर्वोच्च अदालतले फागुन २३ गते फैसला सुनाउँदै एमाले र माओवादी ब्यूँत्याएको थियो । त्यसपछि ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपाको विवादमा नयाँ मोड आएको थियो । उक्त फैसलाले दाहालतिर लागेका माधवकुमार नेपालहरू एमालेमै फर्किनुपर्ने बाध्यता आइलागेको थियो । उक्त फैसलापछि नेपाल पक्षले एमालेमै फर्किने र ओली प्रवृत्तिविरुद्ध लड्ने घोषणा गरेको थियो ।

शुक्रबार केन्द्रीय कमिटी बैठकमा बोलाएको तर माधवकुमार नेपाल पक्ष सहभागी नभएको ओलीको भनाइ थियो । एमाले र माओवादी पुनः अस्तित्वमा आएपछि माधवकुमार नेपाल पक्षको रुवाबासी भएको ओलीको व्यंग्य थियो । ‘अदालतको फैसलापछि उहाँहरू पेरिसडाँडाबाट रुवाबासी गर्दै निस्किनुभएको थियो । अर्याल होटलमा एक/दुई रात बास बस्नुभयो भन्ने सुनेको छु,’ उनले भने ।

आगामी केन्द्रीय कमिटी बैठक बालुवाटारमा पर्याप्त समय दिएर चैत ७ गते बोलाएको भन्दै ओलीले भृकुटीमण्डपबाट चेतावनी दिए, ‘२०७७ साल चैत ७ गते केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्य आउनुहोला । अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ । त्यसकारण म सबैले सुन्ने गरी भन्न चाहन्छु ७ गतेको बैठकमा आउनुहोला ।’

कसैलाई पार्टीबाट ननिकालेको र पार्टी सञ्चालनका लागि केही नेताहरूलाई कामको जिम्मा दिइएको बताए । उनले ७ गते बैठकमा आएर कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न आउन भने । उनले बाटो बिराएका र भड्किएका नेताहरूलाई सम्झाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया