बुधबार, वैशाख १२, २०८१

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नेपालखोज २०७७ चैत १ गते १०:४४


काठमाडौं । कालिकोट, नरहरिनाथ गाउँपालिका–१ घाटीस्थित सल्लेरी सामुदायिक वनमा शुक्रबार दिउँसो आगलागी हुँदा वन नजिकै रहेका ४ वटा घर पूर्ण रुपमा जलेर करिब १३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगलागी नियन्त्रणमा लिने क्रममा घाइते भएका सोही ठाउँ बस्ने ४८ वर्षीय पदम बहादुर बिष्टको प्राथमिक स्वास्थ्य चौकी हुँदै थप उपचारको लागि जिल्ला अस्पताल लगिएको छ ।


धनकुटा, धनकुटा नगरपालिका–४ भोटे चौतारा बस्ने राजकुमार जितपालको घरमा बिद्युतको तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँ, सुनका विभिन्न गरगहना, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।


कास्की, पोखरा महानगरपालिका–१५ नयाँगाउँ स्याण्ड म्यारिज स्कुल पछाडी सोही महानगरपालिका–१७ छोरेपाटन बस्ने ३९ वर्षीय लुम बहादुर गुरुङले पार्किङ गरी राखेको ग.७ प ५८५३ नम्बरको पल्सर मोटरसाइकलमा शुक्रबार दिउँसो अपरिचित ब्यक्तिहरुले आगो लगाउँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।


दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया