बिहीबार, वैशाख १३, २०८१

धुलिखेलबाट पनौतीसम्म एकीकरण मार्गमा सेनाको पदयात्रा

नेपालखोज २०७७ चैत १ गते ११:२४

काभ्रे । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाह र उनका सेनाले प्रयोग गरेका कोटहरुको पहिचान गरी संरक्षण, सम्वर्द्धन गर्न काभ्रेमा नेपाली सेना तथा स्थानीय तहहरुको संयोजकत्वमा धुलिखेलबाट पनौतीसम्म पदयात्रा गरिएको छ ।

प्रधानसेनापती पूर्णचन्द्र थापाले उद्धघाटन गरेका पदयात्रामा नेपाली सेनाका उच्च अधिकारी, जनप्रतिनिधी, सुरक्षा निकाय, नागरिक समाजका प्रतिनिधीहरु सहभागी भएका थिए ।

धुलिखेलबाट देविस्थान, काभ्रेकोट, चौकोट, शारदाकोट हुँदै पनौती रुटमा १० किलोमिटर पदयात्रा भएको हो । भ्रमण वर्ष २०२० को सन्दर्भ समेत पारेर गत वर्ष तय भएको कार्यक्रम कोरोना संक्रमणको कारण स्थगित भएको थियो ।

पदयात्राकै क्रममा धुलिखेलस्थित देविस्थानमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरिएको छ । एकिकरणका सन्दर्भमा प्रयोग भएका कोट, गढीहरु जानकारी गराइएको थियो । पदयात्राको लागि ब्रिफिङ स्टल, मेडिकल प्वाइन्ट, खानेपानी प्वाइन्टका साथै स्थानीय तहबाट आफ्नो क्षेत्रको मौलिक कला तथा संस्कृति झल्कने झाँकीहरु समेत प्रदर्शन गरिएका थिए ।

कालीजंग गणका गणपति प्रमुख सेनानी मिलन थापाका अनुसार तत्कालिन राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा वि.सं १८०३ देखि वि.सं १८२० सम्म काभ्रे जिल्लामा प्रयोग गरिएका ६ वटा पदमार्ग पहिचान गरी नामाकरण गरिएको छ ।

ती पदमार्गले नगरकोट, नाल्दुम, महादेवपोखरी, अर्नकोट, पलाञ्चोकगढी, भवरकोट, तिमालकोट, धुलिखेल, चौकोट, शारदाकोट, गोरखनाथ, पनौती, खड्पु, बनेपा, साँगा, नाला लगायतका स्थान जोडेको छ ।

प्रतिक्रिया