बिहीबार, वैशाख १३, २०८१

दरबारभित्रको सिनेमा हल सञ्चालनमा ल्याइने

नेपालखोज २०७७ चैत १ गते १२:१३

काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको सिनेमा हल आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ । गणतन्त्रपछि नारायणहिटीलाई संग्राहालय बनाइएपछि दरबारभित्रको सिनेमा हलसमेत सर्वसाधारणको लागि सञ्चालनमा ल्याउने तयारी भएको हो ।

तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । ०२६ मा नारायणहिटी दरबारसँगै निर्माण गरिएको सिनेमा हलमा प्रायः शुक्रबार सिनेमा हेर्ने गरिन्थ्यो ।

दशैंको टीमा थाप्ने कक्षसँगै जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्द छ । दरबारभित्रका विभिन्न कक्ष सर्वसाधारणका लागि खुला गरिए पनि सिनेमा हल खुला गरिएको थिएन ।

राजपरिवारले प्रयोग गरेका सोफा र कुर्सीमै बसेर सर्वसाधारणले आगामी वैशाखदेखि सिनेमा हेर्न पाउने भएका छन् ।

एक सय १६ सिट क्षमताको हल सर्वसाधारणका लागि खुला गर्ने संग्रहालय विकास समितिको तयारी छ । अवलोकन गर्न आउनेलाई दरबारमा रहेका पुराना सिनेमा र डकुमेन्ट्री देखाउने समितिको योजना छ ।

चलचित्र विकास संस्थानका पूर्वकर्मचारी झिकाएर समितिले अहिले हलमा रहेका पुराना रिल र प्रोजेक्टरको सफाइ गरिरहेको छ । प्रोजेक्टर रहेको कोठामा सिनेमा र डकुमेन्ट्रीका रिल राखिएका छन् ।

चलचित्र विकास संस्थानका पूर्वकर्मचारी भरतप्रसाद नेपालले ०२५–२६ देखिका रिल भेटिएको बताए । सिनेमा हलमा दुई वटा प्रोजेक्टर रहेको र सामान्य मर्मतपछि तिनलाई सञ्चालनमा ल्याउन सकिने नेपालले बताए ।

संग्रहालयका अनुसार पुरानो प्रविधिमा अभ्यस्त जनशक्ति आवश्यक भएकाले संस्थानका पूर्वकर्मचारीलाई लिएर काम गरिरहेको छ ।

एक सय १६ सिट रहेको हलमा राजारानीसहित राजपरिवारका मुख्य सदस्यका लागि पाँचवटा सोफा र अन्यका लागि कुर्सी छन् ।

दरबारनजिकै रहेको जय नेपाल हल र उपत्यकाका अन्य सिनेमा हलमा चल्ने सिनेमाका रिल दरबारमै ल्याएर उनीहरूले हेर्ने गरेको दरबारका पूर्वकर्मचारीहरू बताउँछन् । उनीहरूका अनुसार तत्कालीन राजपरिवारका सदस्य, पाहुना तथा शाही नातेदारहरूले धेरैजसो शुक्रबार सिनेमा हेर्ने गर्थे ।

प्रतिक्रिया