शुक्रबार, चैत १६, २०८०

गोइत समूहका ‘सेकेण्ड म्यान’ यादवले आत्मसमर्पण गरेको दुई घण्टापछि मालपोतमा विस्फोट

नेपालखोज २०७७ चैत १ गते १६:२२

जनकपुरधाम । जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) का नेता ‘सेकेण्ड म्यान’ रामविलाश यादवले आत्मसमर्पण गरेका छन् । आइतबार बिहान १० बजेर ३० मिनेटमा जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदे यादवले आत्मसमर्पण गरेका थिए ।

यादवले आत्मसमर्पण गलेको दुई घण्टापछि सिरहास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । यादवको आत्मसमर्पणलगत्तै विस्फोट हुनु र घटनास्थलमा सो समूहको पर्चा भेटिनुले आशंका त्यतै तिर गर्न सकिने अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने ।

‘आज बिहान जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)का नेता रामविलाश यादवले प्रेस विज्ञप्ति निकालेर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गर्नुभएको थियो,’ एसपी सुदीपराज भण्डारीले भने,’ उक्त समूहको असन्तुष्ट पक्षले हो वा अन्य कसैले विस्फोट गराएको हो त्यसबारे हामी छानबिन गर्दैछौं ।’

आइतबार दिउँसो सिरहास्थित मालपोत कार्यालयमा १२ बजेर मिनेटमा कुकर बम विस्फोट भएको हो । विस्फोटमा परि मालपोत कार्यालयका कर्मचारीदेखि सेवाग्राहीसम्म घाइते भएका छन् ।

विस्फोटमा परी मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगर, गोलबजार नगरपालिका–६ का लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका–१६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव, धनगढीमाई नगरपालिका–४ का दिनेश भण्डारी घाइते भएका छन् ।

गम्भीर घाइते भएका भण्डारी, मगर र यादवको उपचार सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको र बाँकी समान्य घाइतेको उपचार लहान अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दाहालले जानकारी दिए ।

यसैबीच, गम्भीर घाइते भएका भण्डारीको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउन लागिएको एसपी सुदीपराज भण्डारीले बताए ।

यो पनि

सिराहा बम विस्फोट अपडेट : घटनास्थलमा गोइत समूहको पर्चा फेला

सिराहाको मालपोत कार्यालयमा बम विस्फोट, पाँच घाइते

प्रतिक्रिया