मंगलबार, असार १७, २०८२

धुम्बाराहीमा ओली–नेपालबीच छलफल सुरु

नेपालखोज २०७७ चैत २ गते १२:२५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुबीच छलफल सुरु भएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार बिहान ११ बजेर ३० मिनेटबाट छलफल सुरु भएको हो ।

यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाएका थिए । तर, नेपालले पार्टी कार्यालयमा समूहगत रुपमा छलफल गर्ने भनेपछि ओली धुम्बाराही पुगेका हुन् ।

छलफलमा ओली समूहबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवालीसहितका नेताहरू सहभागी छन् भने नेपाल समूहबाट भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत सहभागी छन् ।

ओली पक्षले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने चैत ४ र ५ गते नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले ब्युँताइदिएपछि एमालेका नेताहरुबीचको विवाद पेचिलो भएको थियो । ओलीले २८ गते बालुवाटारमा आफू पक्षीय नेताहरुको बैठक बसेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद झन् चर्किएको थियो ।

यता नेपाल समूहले आइतबार निर्वाचन आयोग पुगेर ओलीको निर्णय आधिकारिक नभएको भन्दै पत्र बुझाएको थियो ।

प्रतिक्रिया