बिहीबार, कार्तिक २२, २०८१

राष्ट्रपति कार्यकालभर ट्रम्पले ७० करोड डलर गुमाए

नेपालखोज २०७७ चैत ५ गते १७:२८

बीबीसी । राष्ट्रपतिको कार्यकालभर डोनाल्ड ट्रम्पको कुल सम्पत्ति ७० करोड डलरले घटेको ब्लुमबर्गले खुलासा गरेको छ । कोभिड–१९ महामारीले उनको सम्पत्तिमा भारी नोक्सान गराएको बताइएको छ ।

महामारीको अवधिमा ट्रम्पका कार्यालय भवनहरु, ब्रान्डेड होटेल, रिसोर्ट सबैको आम्दानी र तिनको मूल्यमा समेत ठूलो गिरावट आएको हो । त्यस्तै, उनको स्वामित्वमा रहेका विमानहरु र गल्फ कोर्सको कुल मूल्य पनि घटेको थियो । अहिले ट्रम्पमाथि विभिन्न आर्थिक मामिला र उनको पारिवारिक व्यवसायसम्बन्धी अनुसन्धान भइरहेको छ ।

ब्लुमबर्गले ट्रम्प राष्ट्रपति हुनुअघि र पछि उनको सम्पत्तिमा के–कति भिन्नता आयो भन्ने हिसाब निकाल्न सन् २०१६ मेदेखि जनवरी २०२१ बीचका उनका सबै वित्तीय कागजातहरुको अध्ययन र विश्लेषण गरेको थियो । ट्रम्पको व्यावसायिक घरजग्गाका अकाउन्ट उनको कुल सम्पत्तिको तीनचौथाइ हिस्सा हो । उनको नाममा रहेका तिनै अफिस टावरलगायत भवनहरुको मूल्यमा धेरै ठूलो गिरावट आउँदा कुल सम्पत्ति पनि प्रभावित भएको बताइएको छ ।

ब्लुमबर्गका अनुसार ट्रम्पको मुख्य व्यावसायिक सम्पत्तिको मूल्य २६ प्रतिशतसम्म घटेको हुनसक्छ । त्यस्तै, ट्रम्पले आफ्नो नामको ब्रान्डका थुप्रै होटेल, रिसोर्टसहित १९ वटा गल्फ कोर्सहरु पनि सञ्चालन गर्ने गर्छन् । महामारीको समयमा गल्फको लोकप्रियता बढे पनि स्कटल्यान्डका उनका दुई गल्फ कोर्सले लगातार पैसा गुमाउनु परेको थियो ।

गएको जनवरीमा अमेरिकी संसद्माथि भएको हमलापछि अमेरिकाको प्रोफेसनल गल्फर्स एसोसिएसन ९पीजीए०ले ट्रम्पको न्यु जर्सी गल्फ कोर्समा आयोजना गर्ने भनेको २०२२ गल्फ च्याम्पियनसिप टुर्नामेन्टको सम्झौता रद्द गरेको थियो । त्यस्तै, १९९० को दशकमा कंगाल हुँदा ट्रम्पलाई ऋण दिन तयार एक मात्र बैंकले पनि अब उनीसँग कुनै किसिमको कारोबार नगर्ने बताइसकेको छ ।

ट्रम्पको नाममा बोइङ ७५७ सहित थुप्रै विमानहरु पनि छन् । तर, ती विमान दशकौँ पुराना हुन् । समयसँगै तिनको मूल्य पनि प्रत्येक वर्ष घट्दै गइरहेको ब्लुमबर्गको रिपोर्टमा देखिएको छ ।

प्रतिक्रिया