शुक्रबार, वैशाख १४, २०८१

सत्यमोहन जोशीलाई नगेन्द्रप्रसाद–आशालता भाषा, साहित्य संस्कृति पुरस्कार

नेपालखोज २०७७ चैत ८ गते ८:०७

काठमाडौं । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठानले यस वर्षको नगेन्द्रप्रसाद–आशालता भाषा, साहित्य संस्कृति पुरस्कार वरिष्ठ संस्कृतिकर्मी एवं साहित्यकार शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ ।

शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहकाबीच १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार जोशीलाई प्रदान गरिएको हो । पूर्व प्रधानमन्त्री नगेन्द्र प्रसाद रिजाल र उहाँकी धर्मपत्नी आशालता रिजालको नाममा स्थापना गरिएको पुरस्कार साहित्य कला क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई प्रदान गरिँदै आएको छ ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले रिजाल निर्विवाद र देशभक्त प्रधानमन्त्री भएको स्मरण गर्नुभयो । प्रष्ठिानका सचिव एवं साहित्यकार दधिराज सुवेदीले प्रतिष्ठानले आगामी दिनमा स्रष्टा सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।

सम्मानपश्चात शताब्दी पुरुष सत्यमोहन जोशीले प्रज्ञा प्रतिष्ठानको पदाधिकारी रहेर काम गर्दा रिजाललाई नजिकबाट चिन्ने अवसर पाएको स्मरण गर्नुभयो । निष्पक्ष व्यक्तिको नामबाट स्थापित पुरस्कार पाउँदा प्रेरणा प्राप्त हुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया