बिहीबार, वैशाख १३, २०८१

ठूलो खोला जलविद्युत् आयोजनामा २ अर्ब ५२ करोड लगानी जुट्यो

नेपालखोज २०७७ चैत ९ गते १०:५०

काठमाडौ । नेपालमा निजी क्षेत्रको लगानीबाट निर्माण हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटेको छ । प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरु तथा एनआरएनए समेतको मुख्य लगानी रहेको संयुक्त ऊर्जा प्रालिले विकास गर्न लागेको उक्त जलविद्युत् आयोजना म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकास्थित ठूलो खोलामा निर्माण हुनेछ ।

तीन अर्ब ६० करोडमा बन्‍ने आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाइ रहेको विभिन्‍न चारवटा बैंक तथा वित्तीय संस्थाको सहभागितामा बनेको कन्सोर्टियमद्वारा दुई अर्ब ५२ करोडभन्दा बढी लगानी रहनेछ । सिन्डिकेट क्रेडिट फ्यासिलिटिज एग्रिमेन्ट (एससीएफए) सम्झौता ऋणीका तर्फबाट संयुक्त ऊर्जा प्रालिका अध्यक्ष डा. बद्री केसी तथा बैंकहरुका तर्फबाट नेपाल बैंक लिमिटेडका निमित्त नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले एक समारोहबीच सम्झौतापत्रमा हस्तान्तरण गरेका थिए । उक्त अवसरमा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका नायब/सहायक प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य उच्चस्तरीय पदाधिकारीहरुको उपस्थिति थियो ।

आयोजनामा नेपाल बैंकको ७५ करोड १२ लाख ५२ हजार, राष्ट्रिय वाणिज्य बैंकको ६६ करोड, सिद्धार्थ बैंकको ६४ करोड र सनराइज बैंकको ४७ करोड गरी जम्मा दुई अर्ब ५२ करोड १२ लाख ५२ हजारको वित्तीय प्रबन्ध गरिएको हो ।

नेपाल बैंक लिमिटेडका निमित्त नायब प्रमुख कार्यकारी अधिकृत पन्तले नेपाली बैंकहरु त्यसमा पनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राविधिक, जोखिमलगायत विभिन्न पक्षको विश्लेषण गरी उचित निष्कर्षमा पुगेको र आयोजनामा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सही उपयोग हुने विचार व्यक्त गरिन् । उनले यस आयोजनाका प्रवर्द्धकहरु आफैंमा प्रतिष्ठित व्यक्तित्व तथा व्यवसायी भएको हुँदा बैंक कर्जाको सही सदुपयोग हुने बताइन् । यसअघिकै दरमा ठूली खोला जलविद्युत् आयोजना विकास गरी निरन्तर रुपमा विद्युत् उत्पादन भइरहेकोे हुँदा उनीहरुको कार्यको जाँच भइसकेको, यो आयोजना पनि तोकिएको समय तथा लागतमा पूर्ण हुने उनले विश्वास प्रकट गरिन् ।

सम्झौता कार्यक्रममा डेभलपर संयुक्त ऊर्जा प्रालिका अध्यक्ष डा. बद्री केसीले आयोजनामा नेपाल बैंक लिमिटेड तथा अन्य बैंकहरुले तीव्रसाथ गरेको कार्यको सह्राना गर्दै सरकारी बैंकको अग्रसरता र छिटो कार्य भएको अनुभव गर्दा सरकारी बैंकहरुमा ढिलासुस्ती हुन्छ भन्ने धारणा गलत रहेको बताइन् । साथै उनले निर्माण कार्यलाई चुस्त-दुरुस्त पारी यस ठूलो खोला जलविद्युत् आयोजनालाई नमुनाका रुपमा समय र कम लागतमा निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया