नेपालमै इन्टर्नशिप गर्न पाउनुपर्ने भन्दै चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीद्वारा धर्ना
काठमाडौं । कोभिड–१९ का कारण गएको वर्ष चीनबाट फर्केका एमबीबीएसमा अध्ययनरत विद्यार्थीहरूले नेपालमै इन्टर्नशिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन् ।
चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत एक सय ५२ जना विद्यार्थीले आफ्नो इन्टर्नशिप पूरा नभएको र तत्काल चीन फर्कन पाउने कुनै सम्भावना नदेखिएपछि इन्टर्नशिप सुनिश्चितताको माग गर्दै काउन्सिल अगाडि धर्ना दिएका हुन् । विद्यार्थीहरूले ६ महिना अगाडि नै चिकित्सा शिक्षा आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्र पठाइएको तर कुनै सम्बोधन नभएकाले आफूहरू समस्यामा परेको बताएका छन् ।
सन् २०१४ को ब्याचमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरूको गएको वर्ष इन्टर्नशिप रहेको र तीन महिनादेखि दश महिनासम्म इन्टर्नशिप गर्न बाँकी रहेको विद्यार्थीहरूले बताएका छन् । पढाइ पूरा गरेर काम सुरु गर्नुपर्ने बेला भइसक्दा पनि इन्टर्नशिप पूरा गर्न नपाउँदा अनिश्चित भएर धर्ना बस्नुपरेको उनीहरूको भनाइ छ ।
नेपाल मेडिकल काउन्सिलका सदस्य डाक्टर शिवजी पौडेलले आन्दोलनरत विद्यार्थीहरूसँग कुराकानी गर्दै सन् २०१४ को ब्याचका विद्यार्थीहरूको जस्तै सन् २०१५ का विद्यार्थीहरूको समेत समस्या हुने देखिएकाले तत्काल प्याकेजमै समस्या समाधान गर्न कठिन रहेको बताए । तर कानुनअनुसार सहजीकरण गर्नका लागि छलफल भइरहेको उनले बताए । चिकित्सा शिक्षा आयोगबाट निर्णय भएर आएमा कार्यान्वयन गर्न काउन्सिल सकारात्मक रहेको डा. पौडेलको भनाइ छ ।
प्रतिक्रिया