रोहिङ्ग्या शिविरमा भिषण आगलागी : १५ जनाको मृत्यु, ५ सय ६० जना घाइते

काठमाडौं । दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भिषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरुले बताएका छन् ।
आगलागी भएको स्थानबाट उद्धारकर्ताहरुले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरुको पनि खोजी भइरहेको उद्धार संस्थाहरुले जनाएका छन् । रोहिङ्ग्या शरणार्थीले आश्रय लिएको यस ठाउँका हजारौं घरहरु आगोले डढेर खरानी भएका थिए ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर) का प्रवक्ता लुइज डोनोभानले कम्तीमा ४ सय जना हराइरहेका र करिब ५ सय ६० जना घाइते भएका बताए । डोनोभानका अनुसार आगलागीका कारण ४५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।
शिविर ध्वस्त भएसँगै शरणार्थीहरु आफ्ना आफन्त र सरसामानको खोजीमा लाग्नुका साथै अन्य कैयौं व्यक्तिको रुवाबासी भएको छ । म्यान्मारको सेनाको दमनबाट भागेका १० लाखभन्दा बढी शरणार्थी बंगलादेशमा निकै साँघुरा शिविरहरुमा रहेका छन् । यी शरणार्थीहरु सन् २०१७ मा बढी मात्रामा बंगलादेश आइपुगेका थिए । हाल बंगलादेशको रोहिङ्ग्या शिविर विश्वकै सबैभन्दा ठूलो हो ।
प्रतिक्रिया