मंगलबार, वैशाख ३०, २०८२

विश्वकप फुटबल छनोट : टर्की र नर्वेको फराकिलो जित

नेपालखोज २०७७ चैत १२ गते ८:१८

काठमाडौं । कतारमा अर्को बर्ष आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोट शुरु भएको छ । वुधबार राति भएको समूह जीको खेलमा टर्कीले नेदरल्याण्ड्सलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

टर्कीको जीतमा बुराक एल्मेजले ह्याट्रिक गर्दा हकन एनललोहन्जोले एक गोल गरेका थिए । नेदरल्याण्डका लागि डेभी कलासेन र लुक डी जोङले एक एक गोल फर्काएका थिए ।

टर्कीका लागि बुराकले १५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा पेनाल्टी मार्फत दोस्रो गोल गरे भने ४६ औं मिनेटमा हकनले टिमका लागि तेस्रो गोल गरे ।

७५ औं मिनेटमा कलासेन र जोङले ७६ औं मिनेटमा गोल गर्दै अग्रता ३–२ मा ल्याएका थिए । तर, ८१ औं मिनेटमा बुराकले ह्याट्रिक गरेपछि टर्की ४–२ गोल अन्तरले विजयी भयो ।

यस्तै, समूह जी अन्तर्गतकै खेलमा नर्वेले जीत निकालेको छ । नर्वेले जिब्राल्टरलाई ३–० गोल अन्तरले पराजित गरेको हो । नर्वेको जीतमा एलेक्जेन्डर सोर्लोथो, क्रिष्टियन थोरस्टेड र जोनस सेभेन्सनले एक एक गोल गरेका थिए ।

प्रतिक्रिया