आइतबार, असार २२, २०८२

टीकापुर घटना सम्बन्धमा संवाद गर्न गृहमन्त्रीको आग्रह

नेपालखोज २०७७ चैत १२ गते १७:२८


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ताटोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।

थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आह्‌वानमा केही दिनदेखि माइतीघरमा जारी धर्ना कार्यक्रममा बसेका थारु अगुवाहरुलाई भेट्न बिहीबार पुगेका गृहमन्त्री थापाले सरकार र संघर्ष समितिबाट वार्ता टोली गठन गरी समस्या समाधान गर्नुपर्ने बताएका हुन् । त्यसका लागि सरकारले छिट्टै वार्ताटोली गठन गर्ने र संघर्ष समितिबाट पनि धर्नालाई रोकेर वार्ता टोली बनाएर आउन आग्रह गरे । उनले आजैको मन्त्रिपरिषद्को बैठकमा कुरा राखेर वार्ता टोली गठन गरी निष्कर्षमा पुर्‍याउने प्रतिबद्धतासमेत जनाए। उनले टीकापुर घटनाका कतिपय विषय राजनीतिक रुपले समाधान गर्न सकिने र कतिपय कानुनी तथा प्रशासनिक रुपबाट समाधान गर्न सकिने बताए ।

पूर्वसांसद रुक्मणी चौधरीले धर्नाको पाँचौं दिनमा गृहमन्त्री आफैं आएर मागहरुको सम्बन्धमा बुझ्नु सकारात्मक भएको बताइन्ए । उनले टीकापुर घटना राजनीतिक प्रकृतिको भएकाले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशमलाल चौधरी, लक्ष्मण थारुलगायतमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने लगायतका १९ बुँदे माग राखिएको बताए । उनले थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको नाउँमा लिखित रुपमा नेपाल सरकारले पत्राचार गरे मात्रै वार्ता टोली गठन गरी संवादमा जाने बताइन् ।

थारु अगुवाहरुले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाको माग गर्दै आइतबारदेखि माइतीघरमा धर्ना दिएका हुन् ।

प्रतिक्रिया