शुक्रबार, असार २०, २०८२

‘मुलुकमा संकट आउँदा मात्रै हाम्रो जरुरत पर्छ, अरु बेला खोजी हुँदैन’

नेपालखोज २०७७ चैत १४ गते १८:३७

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले मुलुकमा संकट आउँदा मात्रै आफुहरुको जरुरत पर्ने गरेको तर अरुबेला आफुहरुको खोजी नै नभएको आरोप लगाएका छन् ।

आज बृहत् नागरिक आन्दोलनले गरेको कार्यक्रममा बोल्दै नेता ठाकुरले अहिले नयाँ सरकार निर्माणमा जसपा मुख्य भूमिकामा छ भनिए पनि मुलुक संकटमा परेका बेला मात्रै आफूहरुको खोजी भएको बताए । ‘मुलुकमा संकट आउँदा मात्रै हाम्रो जरुरत पर्छ । अरुबेला हाम्रो खोजी हुँदैन,’ उनले भने ।

त्यस्तै उनले नेकपाभित्रको आन्तरिक लडाईंले देशमा संकट आएको बताएका छन् । नेता ठाकुरले ओली सरकारमा भएका कारण आफूहरूले अहिले ओलीसँग वार्ता गरिरहेको भए पनि प्रचण्डले जस्तो ओली सरकारलाई समर्थन नगरेको बताए ।

उनले सरकारमै ओली भएका कारण उनीसँग मधेस र मधेशी जनताको माग पूरा गर्न वार्ता भइरहेको बताए । ‘ओलीलाई समर्थन तपाईंहरू (प्रचण्ड) ले गर्नुभएको छ, आरोप हामीमाथि ?’, ठाकुरले प्रश्न गर्दै भने, ‘हामीले त मधेस र मधेशी जनताको माग पूरा गर्न प्रधानमन्त्रीसँग वार्ता गरिरहेका छौं । हामीले प्रधानमन्त्रीलाई समर्थन गरेका छैनौँ, विरोध पनि गरेका छैनौँ । ’

नेता ठाकुरले आफूहरूले उठाएको माग सम्बोधनका लागि जसले सम्झौता गर्छ उसलाई सहयोग गर्ने पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री ओलीले आफूहरूको माग पूरा गरिदिने बताएको पनि जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले हाम्रो माग पूरा गर्छु भन्नु भएको छ । तर हामी लिखित रुपमा सम्झौता भयो भने मात्र विश्वास गर्छौं ।’ अहिलेको परिस्थितिप्रति कांग्रेस सभापति शेरबहादुर देउवा गम्भीर नभएको उनको आरोप छ ।

प्रतिक्रिया