प्रधानमन्त्री ओलीसँग सभामुख सापकोटाले गरे भेटवार्ता

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार दिउसो भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रतिनिधि सभा बैठकलाई प्रभावकारी ढंगले संचालन गर्ने विषयमा उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ । प्रतिनिधि सभाले बिजनेस नपाएको सन्दर्भमा सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेटवार्ता गर्न चाहिरहेको बताएका थिए ।
प्रतिनिधि सभा विघटन भएपछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच औपचारिक भेटवार्ता भएको थिएन ।
पुस ५ गते तत्कालीन नेकपाको प्रचण्ड नेपाल पक्षका सांसदले संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको विषयमा सभामुख सापकोटाको भूमिकालाई लिएर ओलीले असन्तुष्टि जनाएका थिए ।
यस्तै पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा अध्यादेश पेश गर्न नदिएको भन्दै सभामुखको भूमिकाप्रति पनि ओलीले असन्तुष्टि जनाएका थिए ।
तस्बिरः प्रधानमन्त्रीको सचिवालय
प्रतिक्रिया