मंगलबार, कार्तिक २७, २०८१

महोत्तरी झा दम्पती हत्या प्रकरणमा थप तीन जना सार्वजनिक

नेपालखोज २०७७ चैत १५ गते १९:५९

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले झा दम्पतीको हत्यामा संलग्न थप तीन जनालाई सार्वजनिक गरेको छ ।

आइतवार दिउँसो जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमा पिपरा गाँउपालिका ५ सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी झाको हत्यामा संलग्न स्थानीयवासी तारादेवी झा र उनका छोराहरू कैलाश र विकासलाई सार्वजनिक गरिएको हो ।

प्रहरीले उनीहरूको घरबाट झा दम्पतीको ओछ्यान, शव लुकाएर राखेको बक्सा, जलेको कपडा र दाउरालगायतका सामग्री बरामद गरिएको प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी गराए । मृतक दम्पतीका नातेदार रहेका उनीहरूको हत्यामा संलग्नता देखिएको एसपी आचार्यले बताए।

झा दम्पतीको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले एक हप्ताअघि छिमेकी रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवका साथै भारत बिहार मधुवनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरिसकेको छ ।

गएको फागुन १० गते राति ओछ्यानसहित बेपत्ता भएका झा दम्पतीको शव एक महिनापछि प्रहरीले पिपरा गाउँपालिका २ अतरा जाने बाटोमा गाडेको अवस्थामा फेला पारेको थियो ।

प्रतिक्रिया