बिहीबार, कार्तिक २२, २०८१

प्रतिनिधि सभा बैठकको विशेष समय : सरकारको आलोचनादेखि बचाउसम्मको चर्चा

नेपालखोज २०७७ चैत १८ गते १७:१८

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले सरकारको बचाउदेखि चुनावको चर्चासम्मका विषय उठान गरेका छन् । नेकपा(एमाले) कि सचेतक शान्ता चौधरीले सरकारले गरेका कामहरूलाई दोषी आँखाले हेरिएको आरोप लगाएकी छिन् । सचेतक चौधरीले सरकारले तीन दशकपछि मेलम्चीको पानी काठमाडौंमा झारेको, देशलाई सुरुङ मार्गमा प्रवेश गराएको, भूकम्पपछिको पुन निर्माणका कामहरु भइरहेका तथा नयाँनयाँ विद्यालयहरु बनाउने लगायतका कामहरु सरकारले गरेको बताइन् ।

सरकारले विद्रोही शक्तिलाई शान्तिपूर्ण राजनीतिमा प्रवेश गराई इतिहासमै ठुलो काम गरेको पनि बताइन् ।

सरकाले देशलाई आत्मनिर्भर उन्मुख बनाउँदै लगेको पनि बताइन् । उनले भनिन्, ‘विद्रोही शक्तिलाई वार्ताको टेबुल मार्फत शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको छ सरकारले । विप्लव समूह, सिके राउतजस्ता विद्रोही समूहलाई शान्तिको बाटोमा ल्याएको छ यो सरकारले । मलाई लाग्छ यो सत्ता पक्षले मात्रै होईन, प्रतिपक्ष सबैले सरकारलाई यतिबेला खुलेर धन्यवाद दिनुको सट्टा अहिले पनि सरकारले केही गरेन भनेर हामीले बिरोध गरिरहेका छौँ । त्यसकारणले म भन्दैछु कस्तो संस्कार हो हाम्रो ? कस्तो बुझाइ हो हाम्रो रु अब देशमा कुनै विद्रोही शक्ति हुने छैनन् । इतिहासमा यो सरकारले सबैभन्दा ठुलो काम गरेको छ ।’

नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले जनताले अहिले चुनाव नचाहेको बताए । जनताले कोरोना र आर्थिक मन्दीबाट राहत चाहेको उनको भनाइ छ । सांसद श्रेष्ठले बागलुङमा चैत्र १५ गते फागु पूर्णिमाको दिन युवाहरु बीच भएको झडपका क्रममा नेपाली कांग्रेस जिल्ला समिति सदस्य प्रकाश कुँवर र कार्यकर्ता दीपक परियारको हत्या भएकोमा आपत्ति प्रकट गर्दै दोषीलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गरे । उनले म्यानमारमा सैनिक सरकारले गरेको नरसंहार अमानवीय र निन्दनीय भन्दै म्यानमारको जनताको पक्षमा प्रष्ट रुपमा उभिएर अन्तर्राष्ट्रिय पहलकदमी लिन आवश्यक रहेको पनि बताए ।

नेकपा(माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले सरकारले संविधानको सर्वोच्चता र विधिको शासनलाई पालना नगरेको बताए । सर्वोच्च अदालतको फैसलाले संसदको पुर्नस्थापना गरेको तर सरकारको पुर्नस्थापना नगरेको भन्दै उनले सरकार कामचलाउ भएको टिप्पणी गरे । संसदमा बिजनेशका लागि विभिन्न विधेयकहरु भएपनि सरकारले एजेण्डाको रुपमा नल्याएर संसदलाई पुनः भङ्ग गरेर मध्यावधि निर्वाचनमा धकेल्न खोजेको उनले बताए । संविधानले तोकेको अवधि अगाडी हुने निर्वाचन सही अर्थमा निर्वाचन हुन नसक्ने पनि बताए ।

जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले म्यान्मारमा भएको नरसंहारका विरुद्ध र मानवअधिकार तथा लोकतन्त्रको पक्षमा सरकार र संसद बोल्नुपर्ने बताए । यस्तै काठमाडौंमा देखिएको प्रदूषणका कारण सिर्जित समस्या समाधान गर्न केवल घरमा बसेर मात्रै नहुने भन्दै उनले प्रदुषण नियन्त्रणका लागि सरकारले वैज्ञानिक विधि अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले टिकापुर हत्याकाण्डका दोषीलाई सरकारले माफी दिन लागेको भन्दै टिकापुर हत्या काण्डलाई राजनीतिक मुद्दा बनाई माफी दिनु नहुने बताइन् । संसद पुर्नस्थापना पछि संसदमा कुनैपनि पार्टीको स्पष्ट बहुमत नभएको सन्दर्भमा सरकारको बहुमत पुर्‍याउनको लागि रेशम चौधरी लगायतको रिहाइ गरिए कानून र न्यायको अवहेलना हुने बताइन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारत तर्फको खुल्ला सिमानाका कारण नेपालमा कोभिड–१९ को संक्रमण फैलन सक्ने भएकाले सिमानामा क्वारेन्टाइन तथा परिक्षणको व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताए ।

सांसद सुवालले सरकारी अस्पतालमा अझैपनि राम्रो सेवा सुविधा नभएको टिप्पणी गरे । सरकारी अस्पतालका चिकित्सक, आवश्यक उपकरणलाई पर्याप्त बनाइ गुणस्तरीय सेवा दिन सरकारको ध्यान नपुगेको उनको भनाइ छ । प्रदूषणका कारण काठमाडौंमा स्वास्थ्य समस्या देखिएकाले काठमाडौंलाई रोगीको थलो बनाउन नदिन सरकारले ध्यान पुर्‍याउनुपर्ने सांसद सुवालले बताए ।

प्रतिक्रिया