शुक्रबार, वैशाख ७, २०८१

नेप्से २६ सय ३१ अंकमा, २४ अर्बको सेयर किनबेच

नेपालखोज २०७७ चैत २० गते १२:५५

काठमाडौं । नेप्से यो साता बढेर २६ सय अंक नाघे पनि कारोबार रकम भने खासै बढ्न सकेन । नेप्सेको नियमित कारोबार चार कार्य दिन मात्र खुला रहेकामा एक कार्य दिन नेप्से घटेर बाँकी दिन बढेको थियो । तर यसले कारोबार रकम भने खासै बढाउन सकेन । यसका बावजुत पनि यो साता नेप्से २६ सय ३१ दशमलव ८९ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स चार सय ६६ दशमलव ४२ अंकमा पुगेको छ ।

दुई सय १८ वटा कम्पनीको यो साता दुई लाख ७४ हजार पाँच सय २० पटक सेयर किनबेच भएका छन् । जसबाट चार करोड ७० लाख २१ हजार दुई सय ५३ कत्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम २४ अर्ब एक करोड ३९ लाख पाँच हजार नौ सय ७० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।

गत साता भने नेप्सेमा दुई सय ११ वटा कम्पनीको तीन लाख ५१ हजार पाँच सय ११ पटकको कारोबारमा ६ करोड ३१ लाख २१ हजार एक सय नौ कित्ता सेयर खरिद-बिक्री भएका थिए । उक्त परिमाणमा सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम २९ अर्ब ५८ करोड ८३ लाख पाँच हजार तीन सय ४४ रुपैयाँ पुगेको थियो । यो साता पहिलो कारोबार दिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार बन्द थियो । यसबाहेक दोस्रो दिन नेप्से घटेको थियो भने तेस्रो, चौथो र पाँचौं दिन नेप्से बढेको थियो ।

जसअनुसार दोस्रो दिन पाँच दशमलव ४५ अंकले घटेर २५ सय ४३ दशमलव ५२ अंकमा पुगेको नेप्से अन्तिम कारोबार दिन दशमलव ८८ अंकले बढेर दुई हजार ६ सय ३१ दशमलव ८९ अंकमा पुग्न सफल भएको थियो । यसैगरी सेन्सिटिभ पनि दोस्रो दिन शून्य दशमलव ३९ अंकले घटेर चार सय ४९ दशमलव ९२ अंकमा सीमित रहेकामा अन्तिम कारोबार दिन दुई दशमलव ८३ अंकले बढेर चार सय ६६ दसमलव ४२ अंकमा पुग्न सफल भएको थियो ।

यो साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अजोड इन्स्योरेन्स कम्पनी, चन्द्रागिरि हिल्स लिमिटेड आदि बढी रकम कारोबार भएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेसनल हाइड्रो पावर कम्पनी, अजोड इन्स्योरेन्स बढी सेयर खरिद-बिक्री भएका छन् ।

बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । सूचीकरणर्फ भने यो साता आरएसडीसी लघुवित्त वित्तीय संस्था, एनएमबी लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, सहरा विकास बैंक, विजय लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीको बोनस, साधारण तथा हकप्रद सेयर सूचीकृत भएका छन् ।

प्रतिक्रिया