राजनीतिक गुटहरुको स्वार्थ मिले मात्र नयाँ सरकार गठन सम्भव

नेपालखोज २०७७ चैत २२ गते ९:१२


काठमाडौं । वर्तमान राजनीतिलाई हेर्ने हो भने सबै राजनीतिक गुटको स्वार्थ मिले मात्र नयाँ सरकार गठन गर्न सम्भव छ नभए असम्भव जस्तै भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई सत्ता सुम्पनु पर्ने अवस्था आएको खण्डमा बरु जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार भएका छन् । प्रधानमन्त्री पाउने विकल्प हुँदाहुँदै ठाकुर र उनको समूह तेस्रो शक्ति बनेर देउवा–दाहालसँग सम्झौता गर्न तयार छैन । जसपा एकढिक्का भएर ठाकुरलाई प्रधानमन्त्री दिन तयार छैन ।

अर्कोतर्फ कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नयाँ सरकार गठनको अग्रसरता लिने निर्णय लिएको छ । त्यस निर्णयले उत्साहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र जसपा नेताहरूसँग संवाद थालेका छन् । नयाँ सरकार गठन गर्न प्रचण्ड पनि दौडधुपमा छन् । उनलाई पनि सबैलाई मिलाएर प्रधानमन्त्री बन्नुछ ।

नयाँ सरकार बनाउन माओवादीले संसदमा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने गरी काम थाल्नु आवश्यक रहन्छ । त्यस्तै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने काम गर्न आवश्यक रहन्छ ।

सत्ता समीकरणका लागि कांग्रेसजत्तिकै निर्णायक हैसियतमा रहेको अर्को विपक्षी जसपा छ । उसलाई हाल केपी ओलीले खेलाइरहेका छन् । त्यसैले सरकार बन्न त्यति सजिलो छैन । यो काम अझै अनिर्णयमा नै छ । प्रधानमन्त्री ओलीको विकल्पबारे जसपाभित्र पनि दुई किसिमका धारणा छन् । कांग्रेसको निर्णयले जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष उत्साही देखिएका छन् । तर अर्का अध्यक्ष महन्थ ठाकुर भने प्रधानमन्त्री पाइन्छ भने ओलीलाई समर्थन गर्नु जायज देख्छन् ।

वरिष्ठ नेता राजेन्द्र महतो पक्षले चाँहि ओली र उनको विकल्पमा बन्ने सरकारलाई एउटै नजरले हेरेको छ । सरकारमा सहभागी हुन महतो पक्षको सर्तहरु छन् । उसले यो विषयलाई निलम्बित सांसद रेशम चौधरीलगायत नेताकार्यकर्ताको रिहाको माग राखेको छ । त्यो ओलीले गर्ने हुन् कि होइनन् त्यसका शंका उपशंका धेरै छन् । महतो पक्षले उनीहरू विरुद्ध लागेको मुद्दा फिर्ता र संविधान संशोधनको माग गरेका छन् । यी विविध कारणले नयाँ सरकार गठनका चुनौती धेरै छन् ।


गुट गुटका स्वार्थ मिले मात्र नयाँ सरकार सम्भव छ नभए असम्भव ।

प्रतिक्रिया