बंगलादेशको ५० वर्ष : भोकमरीबाट निर्यातसम्मको यात्रा

ढाका । सन् १९७१ मा बंगलादेश छुट्टै नामबाट विश्वसामु अस्तित्वमा आएको थियो । छुट्टै राष्ट्रका रुपमा अस्तित्वमा आएसँगै उसका सामु चुनौतीका पहाड पनि थपिएका थिए ।
तत्कालीन समयमा उसले संसारभरको प्राकृतिक समस्या र अर्थव्यवस्थाको मोर्चामा निकै नाजुक स्थितिमा थियो । त्यसको मुख्य कारणमा ठूलो जनसंख्या, कम साक्षरतादर, गरिबी, सीमित प्रकृतिक संसाधन र न्यून मात्रामा रहेको उद्योग क्षेत्र थिए ।
कतिपय मानिसले त यो पनि आशंका गर्ने गर्दथे कि बंगलादेश स्वतन्त्र राज्य रहन सक्ला त ?
एकपटक अमेरिकाका विदेशमन्त्री हेनरी किसिन्जरले बंगलादेश एक यस्तो देश बन्ने छ कि जो आफ्नो समस्या आफैं समाधान गर्न सक्ने छैन भनी भविष्यवाणीसमेत गरेका थिए । उनले भनेका थिए- ‘बंगलादेश कसैको सहायतामा मात्र निरर्भर रहनेछ ।’ तर त्यही बंलादेशले केही दिनअगाडि आफ्नो ५०औं वार्षिक उत्सव भव्य रुपमा मनाएको छ । उसले आर्थिक विकासको सफलताको उदाहरण दिइरहेको छ ।
आखिर पछिल्लो ५० वर्षमा बंगलादेशले के परिवर्तन ल्याउन सक्यो ? यसको पछाडिको मुख्य कारण के हो त ?
पछिल्लो केही वर्षयता बंगलादेशको कृषि क्षेत्रमा अभूतपूर्व परिर्वतन आएको छ । पहिले परम्परागत रुपमा धान, गहुँ, मकै र आलु मात्रै उत्पादन गर्ने बंगलादेशमा अहिले भेडेखुर्सानी (सिमला मिर्च), ड्रागन फ्रुट र स्ट्रबेरीलगायत खेती भइरहेको छ । त्यसकारण पनि धेरै किसानको स्थितिमा सुधार भएको हो ।
पछिल्लो समय बंगलादेश खाद्य व्यवस्थामा आत्मनिरर्भर बनेको छ । यो स्वतन्त्र बंगलादेश स्थापनाको समयभन्दा निकै फरक अवस्था हो । त्यस समय भोकमरी हुनु बंगलादेशमा सामान्य कुरा थियो । सन् १९७४ मा भोकमरीकै कारण पूर्वी बंगालमा लाखौं मानिसले ज्यान गुमाउनुपरेको थियो । तर बंगलादेशको अर्थ व्यवस्थामा कसरी परिवर्तन भयो त ?
बंगलादेश स्वतन्त्र भएको समयको आधिकारिक तथ्यांकअनुसार ७० को दशकमा बंगलादेशको उत्पादनदर ३ दशमलव ६ प्रतिशत थियो । प्रतिव्यक्ति आय १२९ डलर थियो । गरिबीको दर ६० प्रतिशत थियो । त्यस्तै बंगलादेशलाई निर्यातबाट हुने आम्दानी २९.७ करोड डलर थियो । आज ५० वर्षपछि बंगलादेश निर्यातबाट अर्बौं डलर आम्दानी गरिरहेको छ ।
सन् २०२० मा बंलादेशले निर्यातबाट साढे ३९ अर्ब डलर आम्दानी गर्यो । कोरोना महामारीको समयमा कतिपय देशको अर्थव्यवस्था धर्मराइरहेको अवस्थामा बंगलादेशको जीडीपी ५.२४ प्रतिशतले बढेको छ । ७० को दशकको तुलनामा आज प्रतिव्यक्ति आय १८ गुणाले बढी भइसकेको हो । २०२० मा प्रतिव्यक्ति आय दुई हजार १७ डलर पुगिसकेको छ । गरिबीको दर घटेर २० दशमलव ५ प्रतिशतमा पुगेको छ । केही समयअगाडि आएको ‘सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्च’को रिपोर्टअनुसार बंगलादेश सन् २०३५ सम्ममा संसारको सबैभन्दा ठूलो अर्थव्यवस्थाको २५औँ स्थानमा रहनेछ । यो उसको गरिब देशबाट विकासशील देश बन्ने यात्रा हो ।
सन् १९७५ मा संयुक्त राष्ट्रसंघले बंगलादेशको सबैभन्दा कम विकशित देशका रुपमा सूचीकृत गरेको थियो । विकासशील देश हुनका लागि तीन सर्त आवश्क पर्छ । सन् २०१८ मा बंगलादेशले यी तीन सर्तको पूरा गरेको थियो । सन् २०२१ मा बंगलादेशले पुनः एकपटक यी सर्त पूरा गर्यो ।
संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक परिषद्का अनुसार कुनै पनि देश हरेक तीन वर्षपछि हुने यो सर्वेक्षणमा यदि लगातार दुईपटक निर्धारित मादण्ड पूरा गर्छ भने उसको सबैभन्दा कम विकसित देशबाट विकासशील देशको सूचीमा समावेश गर्ने गरिन्छ । संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक परिषदले बंगलादेशको र्याङ्किङ परिवर्तनको प्रस्तावमा विचार गरिने भएको छ । तर यसको आधिकारिक घोषणा हुन भने सकेको छैन ।
तीन सर्तमध्येको पहिलो सर्तका रुपमा रहेको प्रतिव्यक्ति आय सूचकांक हो । दोस्रो आर्थिक स्थिरता सूचकांक हो र तेस्रो मानव विकास सूचकांक हो । संयुक्त राष्ट्रसंघको आधार स्तम्भलाई पूरा गर्न प्रतिव्यक्ति आम्दानी कम्तीमा २३० डलर हुन आवश्यक छ ।
आर्थिक स्थिरतामा उभिन सयमा ३२ भन्दा कम नम्बर हुनु आवश्यक छ । बंगलादेशको स्कोर यसमा २५ दशमलव २ रहेको छ । मानव विकासको ममिलामा त्यसको स्कोर ६६ भन्दामाथि हुनुपर्छ । बंगलादेशको स्कोर त्यसमा ७२ दशमलव २ रहेको छ । तर यी सबैमा बंगलादेशले यस किसिमको उच्छाल कसरी गर्न सक्यो ?
आर्थिक वृद्धिदरमा बंगलादेशको निर्यात आय पछिल्ला केही दशकयता निरन्तर रुपमा बढिरहेको छ । विदेशका काम गर्ने बंगलादेशीले पठाउने रकम पनि बढेको छ । कृषि र उद्योग दुवै विकसित भएका छन् । यसका ढाँचामा पनि सुधार भएको छ । बंगलादेशको आर्थिक विकास धेरै मात्रामा सिमान्तस्तरका लाखौँ मानिसको रोजगार र उत्पादन र निर्यातमा सुधारको कारण भएको हो । सुरुवातमा कृषि क्षेत्रले यसमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो । तर १९८० को दशकपछि उद्योगले एक महत्त्वपूर्ण स्थान लिएको छ । विशेष रुपमा रेडिमेड कपडा उद्योगले रोजगारी सिर्जना र निर्यात दुवैमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो ।
बंगलादेशको निर्यात आयको ८३ प्रतिशत यही क्षेत्रबाट आउने गर्छ । कपडा उद्योगले लाखौं मानिसलाई रोजगार दिन्छ । जसमा अधिकांस महिला छन् ।
आर्थिक विकाससँगै बंगलादेशले मानव विकासको मामिलामा समेत महत्वपूर्ण सुधार गरेको छ । यस सम्बन्धमा बच्चा र आमाको स्वास्थ्य महत्त्वपूर्ण हुन्छ । बंगलादेशको आधिकारिक तथ्यांकअनुसार १९७४ मा जन्मेका प्रत्येक एक हजार शिशुमा एक सय ७३ जनाको मृत्यु हुने गरेको थियो । सन् २०१८ मा यो संख्या घटेर २२ मा झरेको छ । सन् १९९१ मा ५ वर्षभन्दा कम उमेरका बालकको मृत्युदर एक हजारमा दुई सय १२ थियो । सन् २०१८ मा यो संख्या २९ रहेको छ । सन् १९८१ मा मातृमृत्युदर ४ दशमलव ६ प्रतिशत थियो । सन् २०१८ मा यो एक दशमलव ७९ प्रतिशमा झरेको छ ।
बंगलादेशमा कुपोषण र मातृ स्वास्थ्यका मुद्दालाई हटाउने गैरसरकारी संगठन र स्वास्थ्य संगठनले धेरै योगदान दिएका छन् । यी संगठनले दुर्गम क्षेत्रमा जागरुगता बढाउने प्रयास गरेका थिए । र सरकारसँगै वित्तीय सहायता प्रदान गर्न पनि काम गरेका थिए ।
एक समय भन्ने गरिन्थ्यो बंगलादेशले बिनासहायता र विनाकर्जा कुनै काम गर्न सक्ने छैन । तर आज उही बंगलादेश पद्मा नदीमा आफ्नै संसाधनबाट तीन अर्ब डलरको लागतबाट रोड रेल पुल बनाउँदै छ । सबैभन्दा कम विकसित देशबाट विकासशील देश बन्नुसम्मको यात्रामा सफलता पाउनु नै सायद ५० वर्षमा बंगलादेशको सबैभन्दा ठूलो उपलब्धि हो । -बीबीसी

प्रतिक्रिया