मंगलबार, कार्तिक २०, २०८१

चिनियाँ जहाज भाडामा लगाउन अध्ययन कार्यदल गठन

नेपालखोज २०७७ चैत २२ गते १४:२०

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चिनियाँ जहाज (४ वटा वाई १२ र २ एमए ६०) भाडामा लगाउने विषयमा अध्ययन गर्न कार्यादल गठन गरेको छ। पाइलट केवी थापाको नेतृत्वमा जहाज भाडामा लगाउने विषयमा अध्ययन गर्न कार्यादल गठन भएको निगम महाप्रबन्धक डिम प्रकाश पौडेलले जानकारी दिए।

निगमलाई केही दिनअगाडि मात्रै अर्थ मन्त्रालयले चिनियाँ जहाज सम्भव भए भाडामा लगाऊ, नभए बिक्री गर भनेर जहाज व्यवस्थापनको गर्न स्वीकृत दिएको थियो। सोही आधारमा निगमले जहाज व्यवस्थापनका लागि भाडामा लगाउने गरी अध्ययन गर्न कार्यादल गठन गरेको हो।

कार्यदलमा अर्थ विभाग, अपरेटिङ विभाग, कर्पोरेट विभाग, कानुनी प्रतिनिधि र इन्जिनियरिङ विभागको समेत प्रतिनिधित्व हुने गरी कार्यदल गठन भएको छ। कार्यदललाई ७ दिनभित्र जहाज भाडामा लगाउने दरसहित रिपोर्ट दिने निर्देश भएको पौडेलले जानकारी दिए।

कार्यदलको रिपोर्टको आधारमा जहाज भाडामा लगाउने निर्णय निगम सञ्चालक बोर्डबाट स्वीकृति गर्ने पौडेलले जानकारी दिए। साउन १६ गतेदेखि ६ वटा चिनियाँ उडान बन्द भएको छ। निगम सञ्चालन बोर्डको असारमा बसेको बैठकले चिनियाँ ६ वटा जहाज (२ वटा एमए–६० र ४ वटा वाई १२) जहाज साउनदेखि सदाका लागि उडान बन्द गर्ने निर्णय गरेको थियो।

जहाजको उडान बन्द गरेपछि अर्थ मन्त्रालयसँग जहाज व्यवस्थापनका लागि अनुमति मागिएको थियो। अर्थ मन्त्रालयले जहाज व्यवस्थापनका लागि निगमसँग सुझाव मागेको थियो। सोही सुझावको आधारमा अर्थले भाडामा लगाउने वा बिक्री गर्न अनुमति दिएको हो। निगमले चिनियाँ जहाज व्यवस्थापनका लागि अगाडि सारेका ४ वटा विकल्प अर्थमन्त्री विष्णु पौडेलको टेबलमा लामो समयदेखि रोकिएको थियो। निगमले मंसिर पहिलो साता नै जहाज व्यवस्थापनका लागि अर्थ मन्त्रालयकै आग्रहमा सुझाव दिएको थियो।

प्रतिक्रिया