ललितपुर मेयर कप : एपीएफको लगातार दोस्रो जित

काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा आइतबार सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो । एपीएफले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभरमा अलआउट हुँदै ९० रनमा समेटियो । सुदूरपश्चिमका लागि सुनिता लुहारले सर्वाधिक २३ रन बनाईन ।
त्यस्तै डोली भट्टले १६ रन जोड्दा रेवती धामीले १२ रन बनाईन । सुदूरपश्चिमका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकिनन् । एपीएफकी बिनु बुढाले ३ विकेट लिईन । यस्तै सिता राना मगर र सुमन विष्टले २र२ विकेट तथा रेखा रावल र शुष्मा श्रेष्ठले एक एक विकेट लिईन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । एपीएफका लागि ज्योति पाण्डेले ५९ रनको अर्शतकीय इनिङ्स खेलिन् ।
त्यस्तै सरिता मगरले अविजित ३५ रन जोड्दा इन्दु बर्मा ४ रनमा अविजित रहिन् । कप्तान सरिता राना मगर १६ रनमा आउट भईन् । सुदूरपश्चिमकी कविता जोशी र सुनिता लुहारले १/१ विकेट लिईन् ।
यस जितसँगै एपीएफले २ खेलमा ४ अंक जोडेको छ । एपीएफले पहिलो खेलमा प्रदेश-१ लाई ८ विकेटले हराएको थियो । सुदूरपश्चिमको यो पहिलो हार हो । सुदूरपश्चिमले पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ७ विकेटले हराएको थियो ।

प्रतिक्रिया