विमानस्थलको सरसफाइलाई विशेषरुपमा ध्यान दिन पर्यटन मन्त्री ढकालको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको सरसफाइलाई विशेष रुपमा ध्यान दिन निर्देशन दिएका छन् ।
आइतबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले विमानस्थलको सरसफाईलाई विशेष ध्यान दिन निर्देशन दिए । विमानस्थलमा अनावश्यक सामाग्रीहरु पनि यत्रतत्र छरिएर रहेको भन्दै चुस्तदुरुस्त व्यवस्थापन गर्नुपर्ने बताए ।
सरसफाइका लागि विमानस्थलसँग पर्याप्त कर्मचारी रहेको भन्दै उनले कर्मचारीको कामको निगरानी राख्नपनि विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए । मन्त्री ढकालले विशिष्ट व्यक्तिहरुको गाडी हवाइजहाजको ढोकैसम्म पुग्ने गरेको भन्दै निश्चित मापदण्ड बनाइ क–कसको गाडी विमानस्थलभित्र जान पाउने निक्र्योल गर्नुपर्ने आवश्यकता रहेको बताए ।
मन्त्री ढकालले हवाइजहाजका लागि प्रयोग हुने इन्धन नेपालमा महंगो भएको भन्दै इन्धनको मूल्य अन्र्तराष्ट्रिय रुपमा समान हुनुपर्ने बताए । उनले विमानस्थलभित्रको धावनमार्गको सम्पूर्ण जग्गा विमानस्थलको नाममा नभएको उल्लेख गर्दै विमानस्थलको नाममा ल्याउने प्रक्रिया थाल्न विमानस्थल प्रशासनलाई निर्देशन दिए ।
विमानस्थलभित्र बस्ने ट्याक्सीले महंगो भाडा लिने गरेकाले ट्याक्सीहरुलाई सरकारले अतिरिक्त सेवा दिएर भएपनि मिटरमा हिडाउनुपर्नेमा पनि मन्त्री ढकालले जोड दिए ।

प्रतिक्रिया