एपिएफ र टिपटप हेल्प नेपाल आरबिबि एनभिए कपको शिर्ष स्थानमा

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ शिर्ष स्थानमा अटाएका छन् ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न खेलमा एपिएफले सम्पन्न तीन खेलमध्ये सबैमा जित निकाल्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो ।
त्यस्तै हेल्प नेपालले पनि आफ्नो अपराजित यात्रालाई आइतबार पनि निरन्तरता दियो । ७ क्लबको सहभागिता रहेको च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी र पुलिसको एनपिसी ३ खेलमा ६ अंक तथा बुलबुले रारा क्लब ४ खेलमा ६ अंक प्राप्त गरेका छन् । नयाँबजार समाज युवा क्लब ३ खेलमा र मणिमुकुन्द क्लब ४ खेलमा शुन्य अंकका साथ पुछारमा रहेका छन् ।
प्रतियोगिता अन्तर्गत महिला तर्फ सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसले सम्पन्न तीन खेलमा स्पष्ट जित निकाल्दै समान ८/८ अंकका साथ शिर्ष स्थानमा रहेका छन् । आर्मीले ह्वाङ्गजी न्यू डायमण्डसंग र पुलिसले एपिएफसंग ५ सेट खेल्दै जित हात पारेका कारण अंक बाँडेका थिए ।
त्यस्तै न्यू डायमण्डको ३ खेलबाट ७ अंक रहेको छ भने एपिएफको २ खेलबाट ४ अंक भएको छ । भरतपुर मेट्रोको ३ खेल र ढोरपाटन स्पोर्टस् क्लब ४ खेलमा ० अंकमा रहेका छन् । शिर्ष दुई टोलीले फाईनलमा उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै, आज भएको महिलातर्फको खेलमा पुलिस र सेनाले जित हात पार्यो । पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–९, २५–५, २५–५ र सेनाले भरतपुर मेट्रो क्लबलाई २५–९, २५–८, २५–१३ ले पराजित गरेको हो ।
यस्तै पुरुष तर्फको प्रतिस्पर्धामा पुलिसले मणि मुकुन्द भलिबल क्लबलाई २५–१८, २५–१९, २५–११ ले पराजित गर्यो । तीन भारतीय खेलाडी सहितको टिपटप हेल्प नेपालले तीन पाकिस्तानी खेलाडीले सज्जित बुलबुले रारालाई २१–२५, २५–१८, २६–२४ र २५–२१ को सेटमा पराजित गर्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो ।

प्रतिक्रिया