विकासका दृष्टिकोणले कर्णाली प्रदेश पछाडी पर्दासमेत सरकारले बेवास्ता गरेको सांसदको गुनासो

नेपालखोज २०७७ चैत २२ गते २०:१४

काठमाडौं । संघीय संसदमा रहेका कर्णाली प्रदेशका सांसदहरुले विकासका दृष्टिकोणले कर्णाली प्रदेश पछाडी पर्दासमेत सरकारले बेवास्ता गरिरहेको गुनासो गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा उपस्थित भएका सांसदहरुले कर्णाली प्रदेशका नागरिकलाई सरकारले मानवीय दृष्टिकोणले समेत नहेरेको गुनासो गरेका हुन् । सांसद गजेन्द्र महतले कर्णाली बासिलाई रेल र एयरपोर्ट नचाहिएको तर सडक चाहिएको बताए ।

देशमा सडक डिभिजन कार्यालय भएपनि अहिलेसम्म नेपाली सेनाले बनाएको बाटोमा मात्रै कर्णालीबासि हिंडन पाएको बताए । उनले कर्णालीका जनता विकासका दृष्टिकोणले मात्रै नभई हरेक कुराबाट पछाडि परेको बताए ।

कर्णालीका जनताको जीवन २४ घण्टामा १२ घण्टा मात्रै हुने गरेको बताउँदै आफूहरुले भन्ने ठाउँ नै नपाएको गुनासोसमेत गरे । सरकारले कर्णालीका जनताका कुरा नसुनेकाले आफूहरुलाई जनप्रतिनिधि भन्नसमेत लाज लाग्ने गरेको उनले बताए ।

त्यस्तै, सांसद गोपालबहादुर बमले सरकारले विकास भएको ठाउँमा विकासका योजना ल्याउने तर विकास नभएको कर्णालीका लागि कुनैपनि योजना नदिने गरेको बताए । सडक सुविधा भइरहेको ठाउँमा सडक बनाउने काम भइरहेको तर सडक नै नभएको कर्णालीमा सडक बनाउने योजनासमेत सरकारसँग नभएको गुनासो गरे ।

सांसद छक्कबहादुर लामाले काठमाडौंको अर्थतन्त्र र कर्णालीको अर्थतन्त्रमा एउटा युगको नै फरक रहेको बताए । कर्णालीमा सरकारको ध्यान नजाँदा अझैपनि कर्णाली राष्ट्रिय अर्थतन्त्रमा जोडिन नसेकेको बताए । अर्थतन्त्र अझैपनि गुजारामा सिमित बन्नुपर्ने बाध्यतामा कर्णाली रहेको पनि बताए ।

सांसद पार्वति कुमारी विशुन्केले एक पटकका लागि कर्णालीका जनतालाई काठमाडौंमा र काठमाडौंका जनतालाई कर्णालीमा लगेर नराख्दासम्म सरकारले कर्णालीको भावना र आवश्यकता बुझ्न नसक्ने बताइन । एउटै देशका दुई ठाउँका नागरिकको जीवन नै फरक हुनु दुःख लाग्दो विषय भएको बताइन । उनले कर्णालीको छाना, नाना र खानालाई हेरेर त्यहाँको विकास योजना बनाउन र बजेट व्यवस्थापन गर्न माग गरिन।

प्रतिक्रिया