शुक्रबार, वैशाख ७, २०८१

कतार प्रहरीका लागि कुनै माग आएको छैन, मान्छे ठग्ने काम बन्द गरौं

नेपालखोज २०७७ चैत २४ गते ७:१२

काठमाडाैं । वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भनेर ठगी हुनसक्ने कुरालालाई मध्यनजर गरी सचेत गराएको छ । विभागले कतार प्रहरीको लागि कुनै माग नआएको जनाएको हो ।

विभागले सोमबार विज्ञप्तिमार्फत कतार प्रहरीका लागि कतारस्थित नेपाली दूतावासबाट कुनै मागपत्र प्रमाणीकरण भएर नआएको भन्दै सम्भावित ठगीबाट बच्न सूचित गरेको हो ।

कतार प्रहरीमा सुरक्षाकर्मीमा पठाउने भन्दै युवासँग राहदानी लिने, अवैध अन्तर्वार्ता लिने जस्ता काम भएको भन्दै उजुरी विभागमा आएकाले यस विषयमा सचेत हुन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ । कतार प्रहरीका लागि विभागबाट हाल कुनै पनि पूर्वस्वीकृति प्रदान गर्ने कार्य नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विभागका अनुसार कतार प्रहरीमा पठाइदिने भन्दै राहदानीलगायतका कागजात सङ्कलन गर्ने, अन्तर्वार्ता लिने तथा रकम माग गर्नेलगायतका अवैध काम भइरहेको भन्ने गुनासो प्राप्त भइरहेको छ ।

कुन देशबाट कुन कामका लागि कति माग आएको छ भन्ने विषयमा विभागको वेबसाइटबाट हेर्न र यकिन गर्न सकिने भन्दै आधिकारिकता परीक्षण गरेर मात्र वैदेशिक रोजगारको प्रक्रियामा संलग्न हुन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

गाेरखापत्र दैनिकबाट ।

प्रतिक्रिया