बुधबार, वैशाख १२, २०८१

आइपिएलको उद्घाटन खेलमा मुम्बईमाथि बैंगलोरको रोमाञ्चक जीत

नेपालखोज २०७७ चैत २८ गते ७:२०

काठमाडौं । यस संस्करणको इन्डियन प्रिमियर लिग (इपिएल) क्रिकेट हिजोदेखि सुरु भएको छ । उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले रोमाञ्चक जीत निकालेको छ ।

बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले हराएको हो । मुम्बईले दिएको १६० रनको विजयी लक्ष्य बैंगलोरले अन्तिम बलमा ८ विकेटको क्षतिमा भेट्टायो ।

बैंगलोरका लागि एबी डिभिलियर्सले ४८ रन बनाएका थिए भने ग्लेन म्याक्सवेलले ३९ र कप्तान विराट कोहलीले ३३ रन बनाए । मुम्बईका जसप्रीत बुमराह र मार्को जानसेनले २-२ विकेट लिँदा ट्रेन्ट बोल्ट र क्रुनाल पान्ड्याले १-१ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । उसका लागि क्रिस लिनले ४९, सूर्यकुमार यादवले ३१, इशान किशनले २८ र रोहित शर्माले १९ रन बनाएका थिए । बैंगलोरका हर्षल पटेलले ५ विकेट लिँदा काइल जेमिसन र वासिङ्टन सुन्दरले १-१ विकेट लिएका थिए ।

प्रतियोगिताको दोस्रो खेलमा आज चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्स भिड्ने छन् ।

प्रतिक्रिया