शुक्रबार, चैत १६, २०८०

बेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

नेपालखोज २०७७ चैत २८ गते ७:३६

बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बिहान विन्डसोरस्थित निवासमा मृत्यु भएको बेलायती राजदरबारले पुष्टि गरेको छ ।

‘गहिरो पीडासहित महारानी एलिजाबेथबाट उनको प्रिय श्रीमान्को निधनको घोषणा भएको छ,’ दरबारबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको निधनमा सम्पूर्ण जनतासहित राजपरिवार पनि गहिरो दुःख व्यक्त गर्दछ ।’

महारानी एलिजाबेथ द्वितीयको ६ दशकभन्दा लामो शासन अवधिमा राजकुमार फिलिपले महत्वपूर्ण साथ दिएका थिए । महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिप बेलायतको इतिहासमा लामो समय सँगै रहेर सेवा गर्ने जोडीसमेत हो ।

राजकुमार फिलिपको मृत्युपछि बकिङहम राजदरबारमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ भने दरबारको गेटमा उनको मृत्युको सूचना टाँसिएको छ । बेलायती सर्वसाधारणले उनको सम्मानमा दरबारको गेटअघि फूलको गुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनीहरूबीच सन् १९४७ मा विवाह भएको थियो । त्यसको पाँच वर्षपछि एलिजाबेथ द्वितीय रानी बनेकी थिइन् ।

राजकुमार फिलिपको अन्त्येष्टि विन्डसोरस्थित सेन्ट जर्ज चापेलमा हुने छ । अन्त्येष्टिको कार्यक्रम कोरोना भाइरस महामारीका कारण सदाको भन्दा केही फरक हुने छ दरबारले जनाएको छ ।

राजकुमार फिलिपको निधनप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् । नेपालका प्रधानमन्त्री केपी ओलीले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै नेपालले एक असल मित्र गुमाएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया