बिहीबार, चैत १५, २०८०

मेयर कप महिला टी २० : उपाधिका लागि एपीएफ र सुदूरपश्चिम भिड्दै

नेपालखोज २०७७ चैत २८ गते ९:३३

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे हुने प्रतियोगिताको उपाधिका लागि विभागीय क्लब एपीएफ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

पीएम कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेका चार टिम र बाँकी प्रतिस्पर्धा गरेका टिमबाट उत्कृष्ट खेलाडी छनोट गरेर ललितपुर ११ टिम गरि पाँच टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

समूह चरणका खेलका आधारमा शीर्ष दुई स्थानमा रहेका टिमबीच आज उपाधि भिडन्त हुन लागेको हो । एपीएफ सबै खेलमा अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनल खेल्न लागेको छ ।

एपीएफ आजको खेलमा पनि सुदूरपश्चिमलाई स्तब्ध बनाउँदै उपाधि जित्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम समूह चरणको हारको पीडामा मलम लगाउँदै उपाधि जित्ने रणनीतिमा हुने छ ।

समूह चरणमा सदूरपश्चिमविरुद्ध एपीएफ ३७ रनले विजयी भएको थियो । उपाधि जित्ने टिमले ३ लाख नगद पुरस्कार प्राप्त गर्दा उप विजेता हुने टिमले १ लाख ५० हजारमा चित्त बुझाउने छ ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले २५ हजार पाउँदा उत्कृष्ट बलर ब्याटरले नगद १५–१५ हजार पाउने छन् । यो प्रतियोगिता ललितपुर महानगरपालिकको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको हो ।

प्रतिक्रिया