पत्रकार महासंघको चुनाव : १६ जिल्लाका मत परिणाम आउन बाँकी
काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आउने क्रम जारी छ ।
निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिलेसम्म देशका विभिन्न ६० जिल्लाको मत परिणाम आइसकेको छ । रुकुम पूर्व बाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो । अझै १६ जिल्लाका मत परिणाम आउन बाँकी रहेको सिलवालले बताए ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौं जिल्लाको मत गणना भइरहेको छ । पछिल्लो मत परिणामअनुसार विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि आइरहेको छ । पोख्रेल नेतृत्वको प्यानल अर्का प्रतिस्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानल भन्दा २ हजार बढी मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिए।
पछिल्लो मत परिणामअनुसार पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको सिलवालले जानकारी दिए ।
सिलवालले विद्युत् आपूर्तिमा समस्या आएकाले जाजरकोट, हुम्लालगायत केही जिल्लाको मतपरिणाम केन्द्रसम्म आइपुग्न कठिनाई भएको बताए ।
प्रतिक्रिया