सरकारले वितरण गरेको पदकमा नयाँ नक्सा प्रयोग नगरिएको भन्दै विरोध प्रदर्शन
काठमाडौं । राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।
शनिबार माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूह निकट युवा संघ नेपालका नेताहरुले विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिइन् । तर ति पदकहरुमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ ।
त्यसैको विरोधमा युवा संघ नेपालले शनिबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले ‘लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा खोई ?’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे)को प्रयोग सुनिश्चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड लिएर उनिहरुले सडकमा सरकारविरुद्ध नाराबाजि गरेका थिए ।
प्रतिक्रिया