बिहीबार, वैशाख १३, २०८१

कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान सुरु

नेपालखोज २०७७ चैत ३० गते १४:०४

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाईरस रोकथामका लागि जनचेतनामूलक अभियान सुरुगरेको छ । दोस्रो चरणमा फैलिरहेको कोभिड –१९ संक्रमणको जोखिमलाई मध्येनजर गर्दै पुरानो बसपार्कबाट अभियानको थालनि गरिएको हो । “ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना” भन्ने मूल नाराका साथ उक्त अभियान थालनी गरिएको हो ।

कार्यक्रममा ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै माहामारीको रूपमा फैलिरहेको कोभिड १९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन यस जनचेतनामूलक अभियान सुरु गरेको बताए । कोभिड १९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेकोल समयमै सुरक्षाका सावधानी अप्नाउनु पर्नेमा उनको जोड थियो ।

यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई कोरोना संक्रमणबाट सुरक्षित रहने बारे आफ्नो विचार राखेका थिए । आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रम गर्न ट्राफिक प्रहरीसँग सहकार्य गर्ने उनको भनाइ थियो ।

सम्पूर्ण चालक सहचालक तथा यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दुरी कायम गरी यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ । “सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौँ” लेखिएको स्टिकर उपत्यकामा चल्ने सम्पूर्ण माईक्रो तथा बसहरूमा टाँस गरिने महाशाखाले जनाएको छ ।

उक्त अवसरमा पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क समेत वितरण गरिएको थियो । कार्यक्रममा उपस्थित यातायात व्यवसायी, मजदुर संघ/युनियनका पदाधिकारी, ट्राफिक प्रहरीका उच्च अधिकृत तथा जवानले यात्रुले देखिने गरी सवारीको ढोका नजिक जनचेतना मुलक स्टिकर टाँस गरेका थिए ।

प्रतिक्रिया