शुक्रबार, चैत १६, २०८०

काेराेना राेकथामका लागि तत्काल लकडाउन नगर्ने मन्त्रिपरिषद्काे निर्णय

नेपालखोज २०७७ चैत ३१ गते १०:२७

काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक बस्याे । बैठकले काेराेना राेकथामकाे लागि तत्काल लकडाउन नगर्ने निर्णय गरेकाे छ । परिषदले कोभिड– १९ को बढ्दो जोखिमका विषयमा केन्द्रित भएर उच्च सतर्कता अपनाउने तर लकडाउन नगर्ने निर्णय गरेकाे छ । क्याबिनेटले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै तत्काल लकडाउन नगर्ने र शैक्षिक संस्थाहरु पनि सुचारु राख्ने निर्णय गरेको छ । संक्रमण फैलन नदिन सचेतना जगाउनुपर्ने र जनतालाई सजग गराउनुपर्ने मन्त्रिपरिषद्को दाबी छ ।

क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बढ्दो जोखिमबारे सजग हुन र रोकथामका उपायहरु अवलम्बन गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए । बालबालिकाहरुमा संक्रमण देखिन थालेको र ११ वर्ष मुनिका बालबालिकाका लागि खोपको प्रबन्धसमेत नभएकाले सतर्क हुनुपर्ने प्रधानमन्त्री ओलीको दाबी रहेकाे बैठकमा सहभागी मन्त्रीले बताएका छन् ।

विद्यालयहरु बन्द गर्न सीसीएमसीले सिफारिस गरे पनि सरोकारवालाहरुको रायलाई समेत ध्यान दिँदै तत्कालका लागि शैक्षिक संस्थाहरु बन्द नगर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । तर, विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गर्न भनिएको छ । कुनै शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्था आएका जिल्लास्तरीय डीसीएमसीले नै स्थानीय तहको जोखिमको अवस्था हेरेर विशिष्टरुपमा निर्णय लिन सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको स्रोतले बतायो ।

मन्त्रिपरिषदले तत्काल लकडाउन नगर्ने निर्णय लिएको छ । स्थानीय तहको स्थिति हेरेर भिन्नाभिन्नै ठाउँका लागि ठो निर्णय लिने बताइएको छ । तर, भीडभाडयुक्त ठाउँहरुको हकमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाइका साथ लागू गरिने मन्त्रिपरिषदको निर्णय छ । त्यसैगरी भारतीय सीमाबाट संक्रमण भित्रन सक्ने जोखिम बढेकाले नाकाहरुमा होल्डिङ सेन्टरहरु बनाउन मन्त्रिपरिषद्ले गृहमन्त्रालयलाई निर्देशन दिएको स्रोतले बताएकाे हाे ।

प्रतिक्रिया