शुक्रबार, वैशाख १४, २०८१

पुतली र मास्कको प्रयोगमा फरक शैलीको फेसन शो ( फोटोफिचर )

नेपालखोज २०७८ वैशाख १ गते १४:२०


काठमाडौं । परिमार्जन र परिवर्तन नै फेसनको महत्वपूर्ण तथा आकर्षक पक्ष हो । यही कुरालाई आत्मसाथ गरेको पाइयो नमूना कलेज अफ फेसन टेक्नोलजीको यस पटकको ग्राजुएसन फेसन शोमा । चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्टको अन्तिम परिक्षा अन्तर्गतको उक्त फेसन शोले प्रदर्शन गरेका पहिरनहरु सुहाउँदा मास्कको फेसन आकर्षक एवं परिस्थिति अनुकुल रहेको पाइयो । हरेक पहिरनसित सुहाउँदो मास्क सहित मोडलहरु मंचमा उत्रिँदा हालको कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दररुपमा सम्बोधन गर्न खोजिएको अनुभव दर्शकहरुले गरेका थिए । यसबाहेक सो फेसन कार्यक्रममा नेपालमै पहिलो पटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरुपमा सजाइएको पुतलीसहित हरेक पहिरनका सृजनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा थप रौनक संचार भएको थियो ।

‘अस्तित्व’ शीर्षकमा संचालन गरिएको यस पटकको ग्राजुएसन फेसन शो नमुना कलेज अफ फेसन टेक्नोलजीका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरसहित मोडलहरु रनवेमा उपस्थित भएसंगै कार्यक्रमको शुभारम्भ भएको थियो । कार्यक्रम अन्तर्गत् ७९ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरनहरुलाई प्रदर्शन गरिएका थिए । ती सुन्दर पहिरनहरुका परिकल्पनाकार एवं सृजनाकर्ताहरु पनि ७९ जना नै थिए ।

हरेक पहिरन नारीको साहस, आत्मविश्वास, क्षमता, त्याग, समर्पण, सहनशीलता, वात्सल्यता, धैर्यता, निर्भिकता, निडरता, विनम्रता लगायतका नारी जीवन र व्यक्तित्वका बहुआयामिक गौरवशाली पक्षहरुको कुनै एक वा एक भन्दा पक्षमा आधारित थिए । उक्त फेसन कार्यक्रममा पहिरनहरुमार्फत् एकै पटक एउटै मंचमा नारीको बोल्ड एण्ड ब्युटीफुलदेखि सेक्सी एण्ड ग्ल्यामरस छवि हुँदै शालीन, गम्भीर, दृढ निश्चयी, ममतामयी र शक्ति स्वरुपा छवि प्रदर्शित भएकोे थियो ।

चैत्र ३० गते साँझ होटल सोल्टी क्राउन प्लाजाको मेघा मल्हार हलमा कोरियोग्राफर रोजिन शाक्यको निर्देशनमा संचालन गरिएको उक्त फेसन शोमा समेटिएका ७९ वटा पहिरनहरुलाई आठ वटा विभिन्न सिक्वेन्समार्फत् प्रदर्शन गरिएका थिए, जसलाई २० जना युवती मोडलहरुले मनमोहन ढंगबाट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया