मंगलबार, वैशाख ४, २०८१

सिंहदरबारमा सुब्बासाबको प्रदर्शन, ‘गिराएर मनोबल, कस्तो खोजेको प्रतिफल ?’

नेपालखोज २०७८ वैशाख २ गते १३:५३


काठमाडौं । संसदको राज्यव्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै सिंहदरबारभित्र कार्यरत नायव सुब्बाहरु आन्दोलित भएका छन् ।


संघीय निजामती सेवा ऐनमा कर्मचारीको मनोबल घटाउने खालको व्यवस्था भएको तथा ऐनको व्यवस्थाअनुसार नायव सुब्बाहरुमाथि अन्याय भएको भन्दै बिहीबार सिंहदबारभित्र काम गर्ने नायव सुब्बाहरुले सिंहदरबार भित्रै प्रदर्शन गरेका हुन् । राजपत्र अनङ्कित तृतीय श्रेणीको पदपूर्तिमा ३० प्रतिशत बढुवा कायम गरिनुपर्ने, रिक्त पदहरुमा आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने तथा राजपत्र प्रथम र द्वितीय श्रेणीको खुल्ला विज्ञापनमा राजपत्र अनङ्कित कर्मचारीको अनुभवलाई पनि मान्यता दिनुपर्ने माग आफूहरुको रहेको नायव सुब्बा श्रीराम पौडेलले बताए ।

प्रस्तावित निजामती सेवा ऐनले कर्मचारीहरुको मनोबल घटाउने मात्र नभई हित विपरित भएकोले उक्त ऐनको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिएको नायव सुब्बा लक्ष्मीप्रसाद शर्माले बताएका छन् । उनले प्रस्तावित ऐनमा कर्मचारीमैत्री निजामती सेवा नभएको समेत बताए ।

प्रस्तावित ऐनले कर्मचारीहरुको वृत्तिविकास, सेवा, सुविधा र अवसरहरुलाई कुण्ठित गरिएको आन्दोलनमा सहभागी नायव सुब्बा लक्ष्मण गुरागाँईले बताए ।

आन्तरिक प्रतिस्पर्धाबाट बृत्तिविकासको बाटो पाउनुपर्ने मागलाई सरकार, संसद र सांसदहरुले सम्बोधन गर्नुपर्ने अर्का नायव सुब्बा सुष्मा थापाले बताए ।

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका केही नायव सुब्बाहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रदर्शनकारीहरुले ‘हामी अधिकार भन्दापनि न्याय माग्न आएका हौँ’, ‘माननीयज्यू नासुको आँसु देख्नुभएन ?’, उनीहरुले ‘ गिराएर मनोबल, कस्तो खोजेको प्रतिफल ?’, ‘राजपत्र अनङ्कित श्रेणीको कर्मचारीको अनुभवलाई अनुभव मान’ लगायतका प्लेकार्डसमेत बोकेका थिए । यस्तै प्रहरीले नियन्त्रणमा लिन थालेपछि प्रदर्शनकारीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नाराबाजीसमेत गरेका थिए । माग पुरा नभएसम्म आफूहरुको आन्दोलन जारी रहने नायव सुब्बाहरुले बताएका छन् ।

प्रतिक्रिया